काठमाडौँ : महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
यसैअन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाले बाजुरास्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर तथा पढाइमा अब्बल विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ।
साथै पाटन नगरपालिका– १ मेल्चौरा बैतडी स्थित श्री सिद्धेश्वर माध्यामिक विद्मालयलाई बैंकको पाटन–बैतडी शाखालेशौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ। ८०० विद्यार्थी र ३० कर्मचारी रहेका विद्यालयमा सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। साथै काठमाण्डौं जिल्ला बुढानीलकण्ठ-४ क्वाँटोल, चण्डेश्वरी स्थित मदन-आश्रित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृत्ति प्रदान गरेको छ। यस्तै कलैया शाखाले निःशुल्क सर्वत पानी वितरण गरेको छ।
त्यसैगरी प्रहरी वृत्त मालीगाउँ काठमाडौँलाई खानेपानी वितरण गरेको छ। साथै रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ। रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवदुर्गा आधारभुत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ। यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ।