लमजुङ। लमजुङको बेँसीसहरदेखि मनाङको चामेसम्मको ६५ किलोमिटर दूरीमा फैलिएको बेँसीसहर–चामे सडक अहिले पनि अत्यन्तै जोखिमपूर्ण बनेको छ।
चट्टान खोपेर निर्माण गरिएको साँघुरो, ग्रेडिङ नमिलेको कच्ची सडक र भिरालो भूगोलका कारण दैनिक सयौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम, तल्लो पट्टि मस्र्याङ्दी नदीको गहिरो खोँच र साँघुरा मोडहरूका कारण यात्रु तथा सवारी चालक त्रसित छन्।
स्थानीय सोमबहादुर गुरुङ र चालक सोमराज मगरातीले सडकको अवस्था झन बिग्रँदै गएको र बर्खायाममा यात्राको जोखिम झनै बढेको बताएका छन्। अर्का चालक रामबहादुर तामाङले सडकबाट खस्ने हो भने सिधै नदीमा पुग्ने भएकाले कुनै सम्भावना नहुने बताए।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार पर्याप्त बजेटको अभावमा सडक स्तरोन्नति हुन सकेको छैन। चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ खर्च भएको र आगामी आवका लागि ४० करोडको बजेट प्रस्ताव गरिएको छ।
विगतमा नेपाली सेनाले जोखिम मोलेर निर्माण गरेको यो सडक हाल सडक डिभिजन कार्यालय दमौलीको जिम्मामा छ। बर्खायाम सुरु भएसँगै पहिरो खस्ने क्रम बढेकाले मनाङवासीलाई यात्रा गर्न गाह्रो भएको छ।
सडक अवरुद्ध हुँदा हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता रहेको मनाङका स्थानीयहरू बताउँछन्। पर्यटक, यात्री र स्थानीयवासी सबैको एउटै चाहना छ – यो सडकको शीघ्र स्तरोन्नति होस् र यात्रा सुरक्षित होस्।