राँझा (बाँके) ।भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण कार्य तीव्र पारेको छ।
आयोगका जिल्ला समिति अध्यक्ष घननाथ खनालका अनुसार कोहलपुर नगरपालिका–१ का ११७ भूमिहीनलाई लालपुर्जा दिइएको छ भने सोही वडाका ६८ अव्यवस्थित बसोवासीलाई वितरणको तयारी भइरहेको छ।
खनालले विवादरहित प्रक्रिया अपनाएर प्रमाणपुर्जा वितरण गरिने जानकारी दिनुभयो। कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुरमा प्रक्रिया अघि बढिरहेको छ।
पहिलो चरणमा कोहलपुर–१ का ६८ अव्यवस्थित बसोवासीलाई जग्गा दर्ता गरी लालपुर्जा वितरण गरिनेछ। सातदिने सूचना प्रकाशन भइसकेको छ र सो अवधिमा राजस्व बुझाई परिवारमूली उपस्थित हुन सूचित गरिएको छ।
त्यस्तै, कोहलपुर–१ का थप ८६४ अव्यवस्थित बसोवासीको दाबीविरोधका लागि सूचना प्रकाशित गरिएको छ।
राप्ती सोनारी गाउँपालिका–९ मा पनि भूमिहीन दलित, सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीलाई निस्सा वितरण सुरु भएको छ। वडाध्यक्ष सोहनलाल थारूका अनुसार निस्सासँगै प्रमाणपुर्जा प्राप्तिको बाटो खुलेको हो।
गाउँपालिका अध्यक्ष तप्त पौडेलले जिल्लाको ५१ प्रतिशत भूभाग ओगटेको राप्ती सोनारीमा समस्या समाधानका लागि विशेष चासो दिन आयोगलाई आग्रह गर्नुभएको छ।