• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार

by
२२ असार २०८१,
0
रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणाम बारेको खोज।

खकेन्द्र खत्रीले दाङबाट कृषि जेटीएको पढाइ सकेर पनि रोजगारी पाएनन्। पढ्दा लागेको ऋण तिर्न र परिवारलाई भरथेग गर्न उनलाई कमाउनै पर्ने बाध्यता थियो। एकल बाबुले हुर्काएका खकेन्द्रले कोरिया जाने सुर कसे। रोल्पा, गंगादेवका उनी तुलसीपुर, दाङमा बसेर कोरियाली भाषा सिक्न थाले।

खकेन्द्रको डेरा नजिकै बस्थे सल्यानका ‘सुशान्त’ भनिने निमबहादुर कुँवर र मोहन वली। उनीहरूले खकेन्द्रलाई कोरिया जाने झञ्झट भन्दा ‘धेरै कमाइ हुने’ रूस जान हौस्याए। रूसी सेनामा महीनाको तीन लाख रुपैयाँ तलब, एक वर्षपछि रूसी नागरिकता जस्ता प्रलोभन दिए। यी दुईसँगै भेटिइरहने गणेश न्यौपानेले त कोरियाको ‘सपना’ देख्नु पैसा र समयको बर्बादी भएको ठोकुवा गरिदिए।

यसअघि पोहोर भदौतिर रोल्पाकै नुवागाउँका अभिषेक बुढालाई पनि सुशान्त र मोहनले रूस पठाइसकेका थिए। उनीहरूले त्यहाँको सेनामा भर्ती भए पनि लडाइँमा गई नसकेका अभिषेकसँग खकेन्द्रको कुरा गराइदिए। अभिषेकले उनलाई रूसी सेनामा भर्ना हुन थप प्रलोभन दिए। अहिले लडाइँका क्रममा अभिषेकको मृत्यु भइसकेको सरकारले पुष्टि गरेको छ।

रूसी सेनामा भर्ती भई जसोतसो त्यहाँबाट फुत्किएका युवाहरूका अनुसार मोहन वलीका दाइ नाता पर्ने सल्यान, छत्रेश्वरीकै राज वली रूसमा बस्छन्। उनले रूसी प्रहरीमा कार्यरत महिलासँग विवाह गरेका छन्।

यी वली दाजुभाइले विदेश जान चाहने नेपाली युवालाई विभिन्न प्रलोभन दिएर रूसी सेनामा भर्ती गराएका छन् र, त्यसबापत ठूलो रकम असुल्छन्।

खकेन्द्रका आफन्त पर्ने रोल्पा गंगादेवका दलबहादुर वलीले पनि मोहन वलीलाई ७ लाख रुपैयाँ बुझाएर रूस गए। सँगै रूस जानेमा थिए, सल्यान दामाचौरका तारा घर्ती पनि। परिवारका अनुसार लडाइँमा युक्रेनी सेनाको गोली लागेर ताराको मृत्यु भइसकेको छ।

गएको ३० असोजमा रूस पुगेका खकेन्द्र र दलबहादुर १६ कात्तिकमा अजरबैजान एअरलाइन्सबाट दिल्ली हुँदै नेपाल फर्किए। दलबहादुर अहिले भारतको हिमाञ्चलमा मजदुरी गर्दैछन् भने खकेन्द्र दलाललाई बुझाएको पैसा फिर्ता लिएर कसरी अन्य देश जाने भन्ने ध्याउन्नमा छन्।

खकेन्द्र र दलबहादुरले रूसी सेनामा जानका लागि मोहन वलीलाई नगद रु.३ लाख र बाँकी रकम उनकै निर्देशनमा निमबहादुर कुँवर र गणेश न्यौपानेको बैंक खातामा जम्मा गरिदिएका थिए (हे. बैंकिङ कारोबार)। पैसा बुझाएको दश दिनमै उनीहरूको भिसा आयो। काठमाडांै छाडेको दुई दिनपछि उनीहरू दुबई हुँदै रूसको राजधानी मस्को पुगे।

त्रिभुवन विमानस्थलमा उनीहरूसँगै रूस जान हिंडेका धादिङ, सल्यान र रोल्पाका थप पाँच जना भेटिए। दुबई पुग्दासम्म यो समूह ५२ जनाको भइसकेको थियो। युद्धग्रस्त क्षेत्रको जोखिमबारे बेखबर यी नेपाली युवाहरू उत्साहित थिए।

मस्को पुगेपछि त्यहाँका एजेन्टले अरू सबैलाई भर्ती केन्द्रमा पुर्‍याए पनि पचास हजार रुपैयाँ तिर्न बाँकी रहेको भन्दै खकेन्द्रलाई अर्कै होटलमा दुई दिन राखे। बक्यौता बुझाएपछि मात्रै भर्ती केन्द्र पुर्‍याइएका खकेन्द्रले भर्तीका लागि तम्तयार करिब १५० युवा देखे।

त्यहाँ उनलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो। ‘ग्रुप सेभेन बटालियन’ अन्तर्गत भर्तीका लागि रूसी भाषामा लेखिएकोे उक्त करारनामालाई गुगलको सहायताले अनुवाद गर्दा पहिले सुनाइए जस्तोे घाइते वा मृत्यु भएमा रु.१ करोड पाइने प्रावधान थिएन।

अन्योलका बीच उनीहरूलाई एक दिनको बस यात्रापछि तालीम हुने ठाउँमा पुर्‍याइयो। ६ महीनाको तालिमपछि युद्धमा पठाउने भनिए पनि दुई हप्तासम्म ड्रोन र बन्दुक चलाउने तालीम दिएर लडाइँमा पठाउन सुरु गरिएको थियो। त्यो पनि युक्रेनी सेनाका बङ्कर र टुकडी कब्जा गर्नका लागि।

यति बेलासम्म खकेन्द्र ‘ग्रुप सेभेन बटालियन’को ह्वाट्सएप ग्रुपमा जोडिइसकेका थिए। यसअघि नै युद्धमा सहभागी नेपालीहरूले त्यो ग्रुपमा हालेका मृत्यु र अङ्गभङ्गका दर्दनाक भिडियो र तस्वीरहरू देखेपछि उनको मन फेरियो।

अब युद्धमा गएपछि फर्किने सम्भावना छैन भन्ने बुझेका उनले त्यहाँबाट निस्कने उपाय खोज्न थाले। आफूसँग भएको १७ हजार रुबल (करिब २६ हजार रुपैयाँ) कमाण्डरलाई घुस दिए र, घरमा आफन्त बिरामी भएको भनेर विदाको बहाना बनाएर युद्धमा जानुअघि कात्तिक १२ गतेको साँझ ब्यारेकबाट बाहिर निस्किन सफल भए।

आधा रातमा सबै सुतेको मौका छोपेर निस्किएका उनी जंगलको बाटो  हिंडिरहँदा ट्याक्सी भेटियो। गुगल अनुवादको सहायताले ट्याक्सी चालकसँग सहयोग मागेर थप १४ घण्टाको यात्रापछि १३ कात्तिकमा मस्को पुगे। आफूसँग भएको पैसा सबै सकिएकाले नेपालबाटै टिकट काट्न लगाएर उनी अजरबैजान एअरलाइन्स मार्फत नेपाल फर्किएका हुन्।

खकेन्द्रले रूस जाँदा सुशान्त र मोहनलाई बुझाएको रु.७ लाख जसरी पनि फिर्ता लिनु छ। त्यसैले उनी आफ्ना अरू साथी रूस जान चाहेको बहाना बनाएर सुशान्तलाई भेट्न नेपालगञ्ज पुगेका थिए।

त्यही भेटमा पैसा फिर्ता मागेपछि सुशान्तले बैंकको चेक थमाए। तर, चेक दिएको बैंक खातामा रकम थिएन। अहिले सुशान्त फरार छन्। “बैंकिङ कसुर र मानव तस्करीको आरोपमा नेपाल प्रहरीको बेचबिखन ब्यूरोमा जाहेरी दिएको छु” खकेन्द्रले भने, “अहिलेसम्म केही भएको छैन।”

मानव तस्करको जालो

बेरोजगार युवालाई रूसी सेनामा पठाई लाखौं रुपैयाँ असुल्ने मानव तस्करहरूको ठूलो सञ्जाल रहेकोे पीडितहरूको बयानबाट स्पष्ट हुन्छ।

रूसी सेनाको कब्जाबाट फुत्किएर खोज पत्रकारिता केन्द्र को सम्पर्कमा आएका एक दर्जन बढी युवाले रूस जानकै लागि दलाललाई ७ देखि १० लाख रुपैयाँसम्म बुझाएकोे बताएका छन्।

उनीहरूका अनुसार नेपालीलाई विना तालीम अग्रमोर्चामा पठाइने भएकाले त्यहाँबाट सकुशल फर्केर आउने सम्भावना ५ प्रतिशत पनि छैन। नेपाल र रूसबीच सैनिक सम्झौता नभएकाले युद्धका घाइतेले क्षतिपूर्ति पाउँदैनन्, मृतकका परिवारले आफन्तको शव समेत पाउँदैनन्।

रूसी सेनामा भर्ती भएका खकेन्द्र लगायतका करिब १०० नेपाली ज्यानको बाजी राखेर कालको मुखबाट फर्किए। तर, उनीहरू जस्तै दलालको विश्वासमा परी रूस पुगेका मकवानपुरको थाह नगरपालिकाका रामकुमार प्रधान युक्रेनी भूमिबाटै सम्पर्कविहीन भएका छन्।

त्यसअघि रामकुमार नेपाली सेनामा कार्यरत थिए। जागिरको थोरै पैसाले परिवार धान्न धौ–धौ थियो। २०६४ सालमा आमाको निधनपछि उनले सेनाको जागिर छाडे। अरू रोजगार नपाएका उनको परिवारमा २०७२ सालको भूकम्पले घर लडाइदिएपछि थप दुःख निम्तियो। अवस्थामा सुधार नभएपछि ऋणमाथि ऋण थपेर गएको असारमा रु.८ लाख दलाललाई बुझाए, रूस गए।

अहिले उनको परिवारले त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयकोे कन्सुलर विभागमा बुझ्दा त्यहाँका कर्मचारीले उनको लडाइँका क्रममा युक्रेनमा मृत्यु भएको खबर सुनाएको भाइ बाबुकाजी बताउँछन्।

रामकुमारसँगै रूस हिंडेका काठमाण्डौ डीबी गुरुङ त्यहाँको सेनामा भर्ती हुनु अगावै नेपाल फर्काइएको भनिए पनि रामकुमार गएको ९ महिनादेखि सम्पर्कमा छैनन्।

“अक्टोबर १६ मा मलाई युद्धमा लैजाँदैछ। के हुन्छ थाह छैन। फर्केपछि फोन गरौंला” युद्धमा जानु दुई दिनअघि भाइ बाबुकाजीसँग ह्वाट्सएप कुराकानी गरेका रामकुमारले रूसी सेनाको कम्ब्याट लगाएको फोटो पनि पठाएका थिए।

“पैसाकै लागि दलालको भर परेर गएको हो। अहिले मृत्यु भइसक्यो भन्छन् तर, सरकारले केही प्रमाण दिएको छैन”, भाइ बाबुकाजीले भने।

बाबुकाजीका अनुसार डीबी गुरुङ पनि रामकुमारसँगै रूस जान भनेर कतारसम्म पुगेका थिए। तर कतारको अध्यागमनले उनलाई फर्काइदिएको थियो। दोस्रो पटक प्रयास गर्दा चाहिं उनी रूसको अध्यागमनबाट फर्काइएका थिए।

डीबी गुरुङले बेपत्ता हुनुअघि प्रधानको परिवारलाई भने अनुसार उनी र रामकुमारलाई एजेन्ट नवराज केसी र म्यानपावर सञ्चालक सुरज थापा मिलेर रूस पठाएका थिए। रामकुमारले रूस जानका लागि रु.८ लाख सुरजलाई बुझाएको उनको परिवारले बताएको छ। उनीहरूको टिकट न्यू नेपाल एजुकेसन वल्र्ड नामक ट्राभल कम्पनीले बनाएको थियो। पीडित परिवारका अनुसार नवराज र सुरज अहिले भारतमा लुकेका छन्। न्यू नेपाल एजुकेसन वल्र्डका सञ्चालक पनि सम्पर्कमा छैनन्।

बाबुकाजी आफैं सेवाग्राही बनेर रूस जाने टिकट बनाइदिन आग्रह गर्दा त्यहाँका कर्मचारीले चासो त देखाए तर, सञ्चालक सुरज थापा त्यहाँ थिएनन्। सम्पर्क सूत्र पत्ता लगाएर ह्वाट्सएपमा कुरा गर्दा नवराजले रामकुमारलाई आफूले टिकट मात्र मिलाइदिएको बताएका थिए।

“एक पटक कुरा भएको हो, त्यसपछि उनीे ह्वाट्सएपमा पनि छैनन्”, बाबुकाजीले भने।

नेपाली सेनाको जागिरबाट सेवा निवृत्त तीर्थराज पाण्डे दुबईको रोयल गार्डमा जागिर खुल्ने हल्ला सुनेर सुर्खेतबाट काठमाडौं आएका थिए। पोहोर वैशाखमा काठमाडौं आएका उनको अधिकांश समय गोंगबुको बर्गर हाउसमा बित्थ्यो।

त्यहीं धादिङका कुबेर कार्की उनीसँग नजिकिए। “दुबई रोयल गार्ड भन्दा रूसी सेनामा जानुस्। म ढुक्कले मिलाइदिन्छु” उनले लोभ देखाए, “महिनाको तीन लाख तलब, भविष्यमा नागरिकता, पासपोर्ट सबै मिल्छ।”

कुबेरको आश्वासनमा लोभिएका तीर्थराजले सल्यान छत्रेश्वरीका राज वलीलाई रु.६ लाख ५० हजार बुझाएको एक हप्तामै अर्थात् ३० सेप्टेम्बरमा दुबई हुँदै मस्को पुगे। त्यहाँ उनलाई लिन रूसी नागरिक एलेक्स विमानस्थलमा आइपुगेका थिए। ३ अक्टोबरमा तालीम केन्द्रमा पुगेपछि उनलाई २२ पृष्ठको करार सम्झौता थमाइयो। त्यसमा दलालले भने जस्तो सेवा–सुविधा उल्लेख नभएको देखेपछि तीर्थराज झस्किए।

उक्त करारमा हस्ताक्षर नगरे रूसी सरकारले १५ वर्षसम्म जेल हाल्न सक्ने चेतावनी भारतीय एजेन्टले दिए पनि तीर्थराज सहमत भएनन्। “बरु जेल हाल्, म अब अगाडि जान्नँ भनेर अड्डी कसें। मेरै कारण अरूको भर्ती पनि भाँडिन्छ भनेर होला, मलाई छोडिदियो”, तीर्थराज भन्छन्।

मस्कोबाट नेपाल फर्कंदा उनको थप रु.४ लाख खर्च भयो। काठमाडौंमा भेटिएका राज वलीले जाँदा लागेको खर्चमध्ये रु.३ लाख ५० हजार फिर्ता गर्ने वाचा त गरे त्यसपछि बेपत्ता भए।

“म्यासेज गर्‍यो भने कहिले दिल्लीमा, कहिले कहाँ छु भन्छ” रूस जानुअघि तत्कालीन शिक्षामन्त्री देवेन्द्रराज पौडेलको सुरक्षार्थ नौ महिना खटिएका तीर्थराज सुनाउँछन्, “रूसको चक्करमा निकै दुःख पाइयो।”

कति मरे, कति हराए, थाहै छैन

‘रूसी सेनामा भर्ना भएका नेपालीको जीवन रक्षार्थ अभियान’ले संकलन गरेको विवरण अनुसार रूस–युक्रेन युद्धमा ४९ नेपाली युवाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यस्तै, मृत्यु भएको खबर पाए पनि आधिकारिक पुष्टि नभएका थप ४१ जना छन्। रूसी सेनामा रहेका नेपालीले दिएको सूचनाको आधारमा मृतकका परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पनि गरिसकेका छन्।

समाजले २०८१ वैशाखसम्म रूसी सेनामा भर्ती भएका ९९१ जना युवाका परिवारको विवरण संकलन गरेको छ। उक्त विवरण अनुसार युद्धमा घाइते भएका १२७ जना नेपाली युवा रूसी अस्पतालमा उपचाररत छन्। २७२ जना आठ महिनादेखि परिवारको सम्पर्कमा छैनन्।

नेपालको परराष्ट्र मन्त्रालय, कन्सुलर सर्भिस विभागका महानिर्देशक प्रकाशमणि पौडेल रूसी सेनामा भर्ती भइसकेपछि त्यहाँबाट भागेर मस्कोसम्म फर्किन सकेका ११० जना नेपालीको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाएर नेपाल पठाएको बताउँछन्।

फर्किएका नेपाली युवाहरू भन्छन्– नेपालीलाई भर्ती गर्ने रूसी सेनाका ब्यारेक संगठित र व्यवस्थित देखिए पनि युद्धको अग्रमोर्चा निकै भद्रगोल र अव्यवस्थित छ। तालीम प्राप्त वास्तविक सैनिक कमाण्डर युद्धमा सबैभन्दा अगाडिको मोर्चाबाट टाढा अर्थात् सुरक्षित क्षेत्रमा रहेर अनुगमन गर्छन्। अपराध प्रमाणित भई जेल सजाय काटिरहेका कैदीलाई चाहिं कमाण्डर बनाएर अग्रमोर्चामा पठाइन्छ। उनीहरूले नेपाली सैनिकलाई कुटपिट गर्ने, मानसिक यातना दिने र अङ्गभङ्ग गरेर ज्यान लिने धम्की दिन्छन्।

हत्या, बलात्कार, डकैती आदि जघन्य अपराधमा जन्मकैदको सजाय भोगिरहेका रूसी नागरिकले एक वर्ष युद्ध लड्न मञ्जुर भए सजाय मिनाह हुन्छ। युद्धमा मृत्यु नभएमा उनीहरू एक वर्षमा घर फर्कन्छन्। त्यसपछि उनीहरूले समाजमा जस्तोसुकै अराजकता देखाउँदा पनि प्रहरीले पक्राउ गर्दैन। बरु युद्धबाट बाँचेर आएको ‘वार हिरो’ भन्दै सम्मान गरिन्छ।

अवैध धन्दा, सबैको मिलेमतो

नेपाली कानून अनुसार भारतीय र बेलायती सेना बाहेक विदेशका अन्य सैन्य संस्थामा नेपाली नागरिकको भर्ती अवैध हो। सन् २०२२ को जून महिनामा भारतले अग्निपथ योजना अघि सारेपछि उत्पन्न विवादका कारण भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया स्थगित भएको छ।

साढे दुई वर्षअघि रूसले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर भी पुटिनले विदेशी नागरिकलाई पनि रूसी सेनामा भर्तीको बाटो खुला गरे। आकर्षक तलब, रूसी नागरिकता, पासपोर्ट र आवासीय सुविधा लगायत घोषणा गरेपछि अध्ययनका लागि रूस पुगेका युवाहरू पहिलो पटक रूसी सेनामा भर्ना भए।

दुई हप्तासम्म सैनिक शिविरमा कम्ब्याट डे«स लगाएर हतियार र ड्रोन चलाउन सिकाइएका उनीहरूलाई रूसी कमाण्डरले त्यसको भिडियो बनाएर टिकटक लगायतका सामाजिक सञ्जालमा हाल्न लगाए।

उक्त भिडियो हेरेर लोभिएका खाडीमा काम गर्ने र बेरोजगार नेपाली युवाको सोधपुछ बढ्न थाल्यो। त्यहींबाट नेपाली युवालाई रूसी सैनिक बनाउन दलालहरू पनि सक्रिय भए। नेपाली युवालाई धमाधम भिजिट भिसामा दुबई हुँदै मस्को पुर्‍याउन थालियो।

“मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ।” युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही भन्छिन्, “लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।”

पैसाको लोभमा सेना र प्रहरीको जागिर छोडेर खाडी मुलुकमा पुगेका अन्य नेपालीले पनि तालीम अवधिभर रूसी सेनामा जागिरको राम्रो अवसर भएको विज्ञापन गरे। रूसी सेनाकै आग्रहमा सामाजिक सञ्जालमा राखिएका त्यस्ता भिडियोबाट आकर्षित नेपाली युवा अझै पनि मानव तस्करको फन्दामा परिरहेका छन्।

मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ। लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।

– युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही

“जाँदा आठ लाख तिरेको थिएँ, फर्कंदा समेत गरेर ११ लाख सकियो”, रूस पुगेर फर्किएका दैलेखका कृष्णबहादुर शाहीले भने। नेपाली सेनाबाट अवकाशप्राप्त उनका दुई गाउँले तुलाराम अधिकारी र दुर्गा पौडेलको भिडियो हेरेपछि उनी पनि दलाललाई पैसा बुझाएर रूस गएका थिए।

बायाँ हातबाट चार र दाहिने तिघ्राबाट दुईवटा गोली निकालिएका कृष्णबहादुरको शरीरभरि बमका छर्राले बनाएका घाउ छन्। उनकै क्षेत्रका खेम सुनारलाई रु.८ लाख बुझाएर रूस गएका कृष्ण ऋणको भारीले थिचिएका छन्। उनी आफूलाई रूस पठाउने दलाल खोजिरहेका छन्।

रूसी सेनामा भर्ना भएका नेपालीको ज्यान गइरहेको खबर सञ्चारमाध्यममा प्रकाशित भएपछि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले फागुन २३ गते रूसी समकक्षी सर्गेइ लाभरोभसँग टेलिफोनमा कुरा गरेका थिए। श्रेष्ठले रूसी सेनामा भर्ना भएका नेपालीको करार सम्झौता रद्द गरी फिर्ता पठाउन, घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको परराष्ट्र मन्त्रालयले त्यसबेला जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर राई दुई देशका विदेश मन्त्रीबीच कुरा भए पनि त्यसको कार्यान्वयन नभएको बताउँछन्। “उनीहरूले हाम्रो कुरा सुनेपछि कार्यान्वयनका लागि मोडालिटीको विषय उठाएका थिए” राई भन्छन्, “तर, त्यसमा खास काम भएको छैन।”

यता बेरोजगार युवालाई ललाई–फकाई युद्धमा पठाउने दलालहरूको पहिचान गरी कारबाही गर्ने काम पनि अहिलेसम्म सरकारको प्राथमिकतामा परेको छैन।

“कति दलालहरू त विदेश पुगिसके” रूसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी भन्छिन्, “यहीं भएकालाई पनि कारबाही गर्न प्रहरीले चासो दिएको छैन।”

उनका अनुसार रोजगारीको आशमा रूसी सेनामा भर्ती भएका नेपालीहरू अग्रमोर्चामा पठाउन थालिएपछि दिनहुँजसो मारिने, घाइते हुने र घर फिर्तीको लागि याचना गर्नेको संख्या बढिरहेको छ।

उनीहरूको उद्धार, उपचार, क्षतिपूर्ति र दाहसंस्कार जस्ता विषय सम्बोधन नभएपछि यस अघिदेखि नै मानव तस्करले खाडीमा अलपत्र पारेका महिलाको रक्षार्थ काम गरिरहेकी कृतु यो अभियानमा संलग्न भएकी हुन्।

२३ चैतमा मानव तस्करीमा संलग्न ६१ जनाको नाम प्रमाण सहित गृहमन्त्री रवि लामिछानेलाई बुझाए पनि खासै कारबाही नभएको भण्डारीको गुनासो छ।

रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्, हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।

– प्रहरी उपरीक्षक गौतम मिश्र, निर्देशक, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो

यद्यपि, त्यही सूचीका आधारमा प्रहरीले २२ जना म्यानपावर सञ्चालक, ट्राभल एजेन्सीका सञ्चालक र केही पूर्व सैनिकलाई पक्राउ गरेको थियो। “प्रहरीले २२ जनालाई पक्राउ गरेर छाडेको छ। केहीबाट रकम फिर्ता गराइएको छ तर, थप कारबाही कसैलाई भएको छैन”, भण्डारीले भनिन्।

“रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्” नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, “हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।”

रूसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका २२ जनाका परिवारले खोजी र उद्धारका लागि पहल गरिदिन निवेदन दिएका छन्। निवेदनमा नाम रहेकामध्ये दुई जनाको मृत्यु भएको उनीहरूसँगै रूसी सेनामा रहेका नेपालीले सम्बन्धित परिवारलाई सूचना दिएका छन्। त्यहाँ सम्पर्कविहीन भएका भनिएका एक जना नेपाली भने फर्किसकेका छन्।

“यसअघि उद्धारका लागि निवेदन मात्र आएकाले अनुसन्धान अगाडि बढाएर कारबाही गर्न सकिएको थिएन। अब जाहेरी पनि आएकाले कारबाही अगाडि बढेको छ। यसको नतिजा केही दिनमा देखिएला”, एसपी मिश्रले भने।

गएको मंसीर तेस्रो साता नेपालीलाई अवैध बाटो मस्को पुर्‍याएर रूसी सेनामा भर्ती गराएको आरोपमा शैक्षिक परामर्श दिने कन्सल्टेन्सी सञ्चालक सहित १२ जना पक्राउ परेका थिए। तीमध्ये नेपाली सेनाबाट अवकाशप्राप्त हरि बिक र अरू दुई जना सुजाता दाहाल र ईश्वर अधिकारी पनि थिए। ती सबै तुरुन्तै रिहा भए।

पक्राउ परेकामध्ये चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भए पनि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै आरोपितलाई सफाइ दियो। अभियन्ता कृतु भण्डारी मानव तस्करहरूलाई राजनीतिक पहुँचको आधारमा उन्मुक्ति दिइएको आरोप लगाउँछिन्।खोज पत्रकारिता केन्द्र

Previous Post

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

Next Post

कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In