चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । अझ ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा नवजात शिशुसँगै बालबालिकालाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोमा बच्चालाई ख्याल गर्न नसके श्वासप्रश्वासको समस्या, ज्वरो आउने, घाँटी दुख्ने, नाक बन्द हुने, घाँटी घ्यार घ्यार हुनेजस्ता समस्या देखिन्छन् र बच्चालाई निमोनिया सम्भावना धेरै हुन्छ । चिसोबाट जोगाउन बच्चाहरुलाई न्यानो बनाएर राख्नु नै उत्तम उपाय हो ।
– बच्चालाई सुताइएको कोठाको पुरै झ्याल बन्द गर्नु हुँदैन ।
– बच्चालाई भित्री कपडा सुतीको लगाइदिनुपर्छ र न्यानो लुगा लगाइदिँदा शरीरमा पसिना आए नआएको ख्याल राख्नेगर्नुपर्छ ।
– जाडोमा छाला सुख्खा हुन्छ । बिहानीको घाममा बेबी लोसन वा शुद्ध तोरीको तेलले हल्का रूपमा नियमित मसाज गरेको खण्डमा बच्चाको छालालाई राम्रो हुन्छ ।
– स्तनपान गर्ने उमेरको बच्चालाई सकेसम्म आमाकै दूध ख्वाउनुपर्छ, बोटलको होइन ।
– बच्चालाई धुलो, धुवाँजस्ता प्रदूषणबाट टाढै राख्नुपर्छ ।
– बच्चासहित हिटरको आगो धेरैबेर ताप्नु हुँदैन ।
– बच्चाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नियमित नुहाउनुको साटो मनतातो पानीमा तौलिया भिजाएर शरीर पुछिदिन सकिन्छ ।
– बच्चालाई शुद्ध र स्वास्थ्यवद्र्धक घरमै बनाइएको खानेकुरा मात्र खुवाउनुपर्छ । हरियो सागसब्जी, अण्डा माछा, मासुको तातो झोल खुवाउन छुटाउनु हुन्न ।
– बच्चा एक वर्षभन्दा माथिको भए नियमित रूपमा मौसम अनुसारको फलफूल तथा ताजा जुस ख्वाउनु पर्छ ।
– मह, अदुवा तातोपानीमा पकाएर खुवाउने, तुलसीको पत्ता मनतातो पानीमा खुवाउँदा पनि बच्चालाई फाइदा गर्छ ।
– बच्चालाई श्वास फेर्न गाह्रो हुने, धेरै ज्वरो आउने, बान्ता गर्ने र बेहोस हुने, दिसा लागिरहने समस्या भए अस्पताल लानुपर्छ ।













