इजरायल र हमासबीचको युद्ध यतिबेला विश्वमै चासो र चर्चाको विषय बनेको छ । युद्ध सुरू भएयता अमेरिकी सञ्चारमाध्यममा ब्रेकिङक न्युजको विषयमा बनेको छ यो युद्ध । अहिले अमेरिकामा अन्य सबै समाचार छायाँमा परेका छन् । यो युद्धले अमेरिकाको चासो र चिन्ता ह्वात्तै बढाएको छ । किनकी यो युद्धको अघिल्लो मोर्चामा इजरायल लडिरहेको भए पनि पछिल्लो मोर्चामा अमेरिका तैनाथ छ । अमेरिकाले ठूलो मात्रामा सैन्य जहाज, हातहतियार र सैनिकहरू इजरायलमा ओसारिसकेको छ ।
यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलको पक्षमा सत्तिसालझै उभिएका छन् । उनलाई यसरी उभ्याउन डेमोक्रेट्सको त साथ छ नै, रिपब्लिकनहरू त झन एक कदम अगाडि बढेर समर्थन गरिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अप्रत्यासित रूपमा इजरायल–हमास युद्धको सामना गर्नुपरेको छ । किनकी हमासले धेरै अमेरिकी बन्धक बनाइदियो र युद्ध लम्बियो भने र्को वर्ष चुनावमा जानलागेका उनको मुस्किल अरू बढ्ने छ ।
यो युद्धमा हमासले अमेरिकी नागरिकसहित सयौं मानिस गाजापट्टीमा बन्धक बनाएको छ । तर, त्यही गाजापट्टीमाथि इजरायलले लगातार बमको वर्षा गराइरहेको छ । यसो गर्दा हमास मात्र मारिदैनन्, ती बन्धकहरू पनि मारिन्छन् । त्यसैले इजरायललाई त्यतिबढी आक्रमण नहुन सम्झाउनुपर्ने जस्तो परिस्थिति सिर्जना भएको छ ।
अहिले अमेरिका दोहोरो संकटमा परेको छ । एकातिर अमेरिकीहरू बन्धक हुने खतरा बढेको छ भने अर्को तिर यो युद्ध लम्बिन सक्ने सम्भावना पनि बढेको छ । यी दुबै अमेरिकाका लागि प्रत्युत्पादक छन् । यो युद्धमा अहिलेसम्म कम्तिमा पनि नौ अमेरिकी नागरिक मारिएको पुष्टि भैसकेको छ ।
तर, यो संख्या धेरै गुना बढी हुने आँकलन गरिएको छ । र, हमासले ठूलो संख्यामा अमेरिकीलाई बन्धक बनाएको अनुमान गरिदैछ । सन् २०२४ मा दोस्रो कार्यकालका लागि चुनावमा जाने तयारीमा रहेका राष्ट्रपति बाइडेन सामु इजरायल–हमास युद्ध केही नयाँ चुनौति ठड्याइदिएको छ ।ग













