बूढाबूढी हुनु भनेको शारीरिक रुपमा दुर्बल हुँदै जानु भए तापनि सामाजिक रुपमा मर्यादित, आर्थिक रुपमा सबल र अनुभवको हिसाबले निकै सम्पन्न हुनु हो । अर्काे शब्दमा भन्नुपर्दा— बूढाबूढीसित अन्य बेला नभएको समय हुन्छ, अन्य बेला नभएको सम्पत्तिको अधिकार हुन्छ, अन्य बेलाभन्दा बढी अनुभव हुन्छ र अन्य बेलाभन्दा बढी सम्मानको भागीदार हुन पनि पाइन्छ । त्यसैले यसलाई जीवनको स्वर्णकालको रुपमा लिन सकिन्छ ।
आफ्नो समय नाति–नातिनीलाई दिएर अनुभव हस्तान्तरण गर्नको आनन्द उठाउनुस् र यसको बदलामा उनीहरुको चोखो माया पाई धन्य हुनुस् । बच्चाहरु स्कुल जाँदा तपाईं सामाजिक–आध्यात्मिक संस्थामा लागि जीवनको वास्तविक मर्म बुझ्ने अभ्यास गर्नुस् ।
शान्त भई तन विसर्जन गर्ने कला सिक्दै जानुस् । आफ्नो मातहतमा रहेको सम्पत्ति यथोचित र सही व्यवस्थापन गरी सम्मानपूर्वक रहनुका साथै परलोकमा पनि उचित स्थानको जोहो गर्नुस् । आफूले गरेका गल्तीबारे लेखेर वा बोलेर प्रकाश पार्नुस् । यसो गर्दा तपाईंको मन हलुङ्गो हुन्छ भने अरुले ज्ञान पाउँछन् । वृद्धावस्था अरुलाई दिँदै मर्ने स्वर्ण अवसर जुरेको समय हो ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













