काठमाडौँ, १ कार्तिक : आज नेपालको राजनीतिक परिवेश बदलिएको छ। जनताले पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ नेतृत्वलाई अवसर दिएका छन्। तर मेरो मनमा एउटा प्रश्न छ के हिजोका सबै राजनीतिक दल खराब थिए? के आज उदाएका सबै नयाँ राजनीतिक शक्ति र तिनका प्रतिनिधि सही छन्?
हामीले पुराना नेतृत्वलाई सुधार्न सकेनौँ कि उनीहरू आफैँ सुध्रिन चाहेनन् ? कि हामी नागरिकले पनि उनीहरूलाई जवाफदेही बनाउन पर्याप्त भूमिका निर्वाह गर्न सकेनौँ ? यी प्रश्नको उत्तर खोज्न अझै समय लाग्नेछ।
राणा शासनको अन्त्यदेखि लोकतन्त्रको स्थापना, माओवादी द्वन्द्वको अन्त्य र गणतन्त्रसम्मको यात्रामा पुराना राजनीतिक दलहरूको योगदान र संघर्षलाई बिर्सन मिल्दैन। तर विगतमा योगदान गरेकै आधारमा उनीहरूले गरेका गल्तीलाई सधैँ माफ गर्नुपर्छ भन्ने पनि होइन।
त्यस्तै, नयाँ नेतृत्वले जनताबाट अवसर पाएको छ भन्दैमा उनीहरूका हरेक निर्णय सही छन् भनेर निष्कर्ष निकाल्नु पनि उचित हुँदैन। नयाँ नेतृत्वको वास्तविक परीक्षा अब सुरु भएको छ। उनीहरूले जनताको अपेक्षा कति पूरा गर्छन्, सुशासन कति कायम गर्छन् र नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउँछन् भन्ने कुरा समयले देखाउनेछ।
मेरो विचारमा, समस्या पुराना र नयाँ दलको मात्र होइन, हाम्रो राजनीतिक संस्कारको पनि हो। हामी भ्रष्टाचारको विरोध गर्छौँ, तर आफ्ना मानिसले गल्ती गर्दा चुप लाग्छौँ। हामी राम्रो नेतृत्व खोज्छौँ, तर फरक विचार राख्ने मानिसलाई सुन्न चाहँदैनौँ। हामी परिवर्तनको अपेक्षा गर्छौँ, तर आफ्नो सोच र व्यवहार बदल्न कति तयार छौँ?
अभिभावकले गल्ती गरे भन्दैमा उनीहरूको सम्पूर्ण योगदान अस्वीकार गर्नुपर्छ र? उनीहरूलाई सुधार्न सकिँदैन भने नयाँ पुस्ताले जिम्मेवारी लिनु स्वाभाविक हो। तर परिवर्तनको अर्थ पुरानालाई अपमान गर्नु वा फरक विचार राख्नेहरूलाई लखेट्नु होइन। गल्ती गर्नेले जवाफदेही हुनुपर्छ, योग्यले अवसर पाउनुपर्छ र सबैले कानुनको पालना गर्नुपर्छ।
हिजोका राजनीतिक दलले गरेका राम्रा कामबाट सिकौँ, कमजोरी सच्याऔँ र नयाँ नेतृत्वलाई पनि निष्पक्ष रूपमा प्रश्न गरौँ। सरकारको राम्रो कामको प्रशंसा गरौँ, गलत निर्णयको आलोचना गरौँ। कुनै पनि नेता वा दललाई अन्धसमर्थन गर्नु लोकतान्त्रिक चेतना होइन।
हामीले खोजेको नेपाल यस्तो होस्, जहाँ नागरिकले न्याय पाऊन्, युवाले आफ्नै देशमा भविष्य देखून्, भ्रष्टाचार नियन्त्रण होस्, सरकारी सेवा सहज होस् र राजनीतिक आस्थाका आधारमा नागरिकबीच विभेद नहोस्। देश बनाउन पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवै आवश्यक पर्न सक्छ। तर सबैभन्दा आवश्यक कुरा इमानदार नेतृत्व, बलिया संस्था र जवाफदेही राजनीतिक संस्कार हो।
आज नयाँ नेतृत्वलाई अवसर दिऔँ, तर प्रश्न गर्न नछोडौँ। पुरानाको योगदानको सम्मान गरौँ, तर गल्तीलाई ढाकछोप नगरौँ। किनकि अन्ततः हामीले समर्थन गरेको दल होइन, हामीले निर्माण गर्न चाहेको देश महत्त्वपूर्ण हो। नेपाललाई नेता फेर्ने मात्र होइन, राजनीतिक सोच, संस्कार र शासन गर्ने तरिका बदल्ने परिवर्तन चाहिएको छ। 🇳🇵












