काठमाडौं । लगातारको वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। आइतबार बेलुकादेखि राजमार्गका केही खण्डमा पहिरोले सडक अवरुद्ध गर्नुका साथै कतिपय ठाउँमा सडक संरचनामै क्षति पुगेको छ। अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने र क्षतिग्रस्त संरचनाको मर्मत गर्ने काम अघि बढाइए पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। पहिरोको अवस्था र सडकमा भएको क्षतिका कारण तत्कालै सबै खण्डमा यातायात सहज बनाउन कठिन रहेको प्रशासनको भनाइ छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरिएको छ। विभिन्न स्थानमा पहिरो गएको छ। सडक खुलाउने काम भइरहेको छ। तर कतिपय ठाउँमा सडक नै क्षतिग्रस्त भएकाले पूर्ण रूपमा यातायात सञ्चालन हुन केही दिन लाग्न सक्छ,’ प्रसाईंले भने। वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने क्रममा समेत थप अवरोध आउन सक्ने प्रशासनले जनाएको छ। कतिपय स्थानमा माथिबाट ढुंगा तथा माटो खस्ने क्रम जारी रहेकाले सडक मर्मत र खुलाउने काम चुनौतीपूर्ण बनेको छ।
यात्रामा सावधानी अपनाउन आग्रह
राजमार्ग अवरुद्ध भएपछि जुम्लासहित कर्णालीका विभिन्न जिल्लातर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सडकको वास्तविक अवस्था नबुझी यात्रा गर्दा बीच बाटोमै सवारी रोकिएर यात्रु तथा चालक समस्यामा पर्न सक्ने भएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।
विशेषगरी वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रसाईंले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर मात्रै यात्रा गर्न तथा मालसामान ढुवानी गर्न आग्रह गरेका छन्। कुन खण्ड सञ्चालनमा छ र कुन ठाउँमा अवरोध छ भन्ने जानकारी लिएर मात्र सवारी सञ्चालन गर्न उनले अनुरोध गरेका हुन्।
मेसिन र जनशक्ति परिचालन
अवरुद्ध सडकखण्डमा पहिरो हटाउन सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले आवश्यक उपकरण र जनशक्ति परिचालन गरेका छन्। पहिरो हटाउनेसँगै क्षतिग्रस्त सडकको अवस्थाअनुसार मर्मतसम्भारको काम पनि अघि बढाइएको छ। तर केही स्थानमा सडकको भाग नै क्षतिग्रस्त हुनुका साथै माथिबाट निरन्तर ढुंगा–माटो खस्ने जोखिम रहेकाले सडक खुलाउने काममा कठिनाइ भइरहेको छ। सडक सञ्चालनमा आएपछि पनि पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षित अवस्था सुनिश्चित नभएसम्म यात्रु तथा चालकलाई सतर्क रहन आग्रह गरिएको छ।
कर्णाली राजमार्गमा बर्खाको समयमा पहिरोका कारण यातायात अवरुद्ध हुने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ। गगनेखोला, पिली, मोल्फा र एस मोडलागायतका स्थानमा विगतमा पनि पहिरोका कारण यातायात प्रभावित हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको सडकखण्डका विभिन्न स्थान पहिरोको जोखिममा छन्। वर्षायाममा पहिरोको क्रम बढ्दा यात्रु तथा मालवाहक सवारीसाधनले नियमित रूपमा समस्या भोग्दै आएका छन्।
अवस्था बुझेर मात्रै सवारी चलाउन आग्रह
जिल्ला प्रशासन कार्यालय जुम्लाले राजमार्गमा यात्रा गर्ने नागरिकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। सडक खुलाउने काम भइरहेका बेला जबर्जस्ती सवारी अघि बढाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न भनिएको छ। मालवाहक सवारीका चालक तथा व्यवसायीलाई समेत सडक पूर्ण रूपमा खुलेको जानकारी नआएसम्म यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। लामो दूरीका सवारीसाधन बीच बाटोमै लामो समय रोक्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसूचना लिएर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।
राजमार्ग सञ्चालनलाई सहज बनाउन सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए। सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको र अवस्था सामान्य भएपछि नियमित यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ।














