काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएका छन्। नेपाल प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ) र सशस्त्र प्रहरी बलका टोली बाढीबाट बढी प्रभावित बस्तीमा केन्द्रित भएर खोजी तथा उद्धारमा खटिएका छन्। नुवाकोटको त्रिशूली, बेत्रावती, सोले र भैँसेलगायत क्षेत्रमा एसटीएफ र सशस्त्र प्रहरीका टोली संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन भइरहेका छन्। बाढीले भत्काएका तथा डुबानमा परेका घरका भग्नावशेषमा मानिस फसेको हुन सक्ने आशंकामा विशेष टोलीले खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्रीय विशेष कार्यदल कपनमा रहेको एसटीएफलाई विशेष उद्धार तथा जोखिमपूर्ण अपरेसनका लागि परिचालन गरिएको हो। भग्नावशेषभित्र जीवित व्यक्ति फसेको सम्भावनालाई ध्यानमा राख्दै टोलीले सम्भावित स्थानमा खोजीलाई प्राथमिकता दिएको छ। यसअघि बाढी आएको ११औँ दिन सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको भग्नावशेषबाट उनकी श्रीमती चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरेको थियो। यस्तो सम्भावना अन्य क्षेत्रमा पनि हुनसक्ने भएकाले खोजी कार्यलाई निरन्तरता दिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए।
यसैबीच, बाढीबाट ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या अझै ठूलो रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ३४९ जनाको शव फेला परेको छ भने चार हजार ९९६ जना अझै बेपत्ता सूचीमा छन्। फेला परेका शवमध्ये ९८ वटा आफन्तको जिम्मा लगाइएको छ। सनाखत हुन नसकेका शवको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। नेपाल प्रहरीले हालसम्म एक हजार २८६ शव र एक हजार १८६ आफन्तको डीएनए नमुना संकलन गरेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९७५, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा खटिएका छन्। नेपाली सेनाको टोली भने मुख्य रूपमा क्षतिग्रस्त जलविद्युत आयोजनामा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोजीमा केन्द्रित रहेको जनाइएको छ।













