डुम्रे–बेँसीसहर सडक खुलेको पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा लमजुङ र मनाङ जाने यात्रु तथा स्थानीयवासी कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
विसं २०२९ मा निर्माण सुरु भएको ४२ किलोमिटर लामो डुम्रे–बेँसीसहर सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने २०५२ सालमा कालोपत्रे गर्न थालिएको थियो। तर, ५४ वर्ष बितिसक्दा पनि सडकको पूर्ण स्तरोन्नति हुन सकेको छैन।
लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटक–पटक माग गरे पनि कामले अपेक्षित गति लिन सकेको छैन। वर्षायाममा निर्माण कम्पनीले सडक किनारमा जथाभावी निर्माण सामग्री थुपारेकाले आवागमन झन् कठिन बनेको स्थानीयको गुनासो छ।
घाम लाग्दा अत्यधिक धुलो र वर्षामा हिलोका कारण यात्रा निकै कष्टकर हुने गरेको यात्रुहरू बताउँछन्।
“पानी पर्दा हिलो र घाम लाग्दा धुलोले केही देख्नै गाह्रो हुन्छ। यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताइन्।
सवारी चालक नारायण घिमिरेले पनि वर्षायाममा यो सडक भएर यात्रा गर्नु निकै जोखिमपूर्ण हुने बताए।
स्थानीयको निरन्तर दबाबपछि डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्मको करिब ८.९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।
डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार पिके निर्माण सेवा काठमाडौंसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। निर्माण सम्पन्न गर्ने लक्ष्य २०८२ जेठमा तोकिए पनि हालसम्म काम सकिएको छैन। आयोजनाको लागत ७२ करोड रुपैयाँ रहेको छ।
डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका जिल्लाको मुख्य प्रवेशमार्ग हो। अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत यही सडक प्रयोग गर्ने भएकाले यसको स्तरोन्नति आवश्यक रहेको स्थानीयको माग छ।













