नवलपुर। लगातार चार दिनको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य बनेको छ। हिलोमा गाडी फस्ने क्रम बढेपछि यात्रा कठिन र एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
शनिबार विनयी त्रिवेणी गाउँपालिका–२ घ्यु खोलामा ट्रक फसेर सडक राति ९ बजेसम्म अवरुद्ध भएको थियो। आइतबार बिहानदेखि भने सडक फेरि अवरुद्ध भएको छ। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रक र दाङबाट नारायणघाटतर्फ जाँदै गरेको ट्रक बिग्रिएपछि दाउन्ने खण्डमा ट्राफिक जाम बढेको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
त्यस्तै, काठमाडौँ–सुर्खेत जाँदै गरेको बस र अन्य खाली ट्रक पनि हिलोमा फसेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। हाल करिब पाँच सय सवारी साधन जाममा परेको छ भने बाटो खुलाउने प्रयास जारी छ। यात्रुहरूले दाउन्नेको १४ किलोमिटर दूरी पार गर्न ६ घण्टाभन्दा बढी समय लागेको बताएका छन्।














