वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–४ सिसौघारीमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । पालिकाले यसलाई पर्यटन आकर्षणसँगै आम्दानीको स्रोतका रूपमा विकास गर्ने उद्देश्य राखेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रममार्फत परियोजना अघि बढाइएको हो । यसअन्तर्गत तलाउ, मन्दिर र पक्की सडक निर्माण गरिने विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिए ।
“बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ, त्यहाँसम्म पुग्ने पक्की पहुँचमार्ग पनि बन्नेछ,” इञ्जिनियर पौडेलले भने, “परियोजनाका लागि कुल रु १२ करोड ८० लाख विनियोजन गरिएको छ र आगामी फागुनसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।”
तलाउमा निर्माण हुने मन्दिरमा भगवान् शिव–पार्वती र गणेशका मूर्तिहरू प्रतिस्थापन गरिने बताइएको छ ।














