सोलुखुम्बु। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ स्थित पत्ताले डाँडा पछिल्लो समय हिमाली दृश्य अवलोकन र आतिथ्यका लागि लोकप्रिय बन्दै गएको छ। सगरमाथा र आसपासका दर्जनौँ हिमश्रृङ्खला स्पष्ट देखिने भएकाले पिके पिक वा गौरी टाप जाने पर्यटकहरू यहाँ बास बस्ने गर्छन्। पत्ताले बजारमा ५४ वर्षीया सङ्गीता मगरले सञ्चालन गरेको मुना होटेलले आगन्तुकलाई घरकै जस्तो वातावरण प्रदान गर्दै आएको छ।
पत्तालेको यो विकास रातारात भएको होइन। सङ्गीताका बुबा भलकाजी मगरले यस क्षेत्रमा बाटोघाटो र बस्ती बसाल्न महत्वपूर्ण भूमिका खेलेका थिए। पहिले नुन र चामल बोकेर हिँड्नुपर्ने यो ठाउँमा अहिले सडक सञ्जाल जोडिएसँगै कृषि उत्पादनमा पनि परिवर्तन आएको छ। यहाँ अहिले स्थानीय आलु, बन्दकोभी, गाजर र काउलीको राम्रो उत्पादन हुने गरेको छ।
होटेल सञ्चालनको १५ वर्षमा सङ्गीताले आफ्नो आत्मीय शैलीले धेरैको मन जितेकी छन्। उनी आफ्नो भान्सामा कोदो र फापरको ढिँडो, सिमीको सुप, मकै भटमास र ‘रिल्दुक’ जस्ता स्थानीय परिकार पस्किन्छिन्। बुङ क्षेत्रको प्रसिद्ध आलु र लोकल कुखुराको झोल उनको होटेलको मुख्य आकर्षण हो। वैदेशिक रोजगारीका लागि छोरीहरू पोर्चुगल गए पनि सङ्गीता आफ्नै भूमिमा श्रम र सेवामा रमाएकी छन्।
यस क्षेत्रमा नयाँ लगानी पनि बढ्दो छ। सिद्धिचरण नगरपालिका-६ ठाडेमा स्वास्थ्यकर्मी उत्तम मगरले तीन महिनाअघि ‘हिल टावर भ्युज’ होटेल सञ्चालनमा ल्याएका छन्। काठमाडौँबाट करिब २१५ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट सगरमाथासहित १० देखि १२ वटा हिमश्रृङ्खला देख्न सकिन्छ। शरद ऋतु र चाडपर्वका समयमा पर्यटकको चाप बढ्ने हुँदा स्थानीय व्यवसायीहरू उत्साहित छन्।












