तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको छ ।
रु एक करोड ५३ लाख लागतमा निर्माण गरिएको दुईतले आठ कोठे भवन गैरसरकारी संस्था ‘छाया नेपाल’को ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा बनेको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए ।
विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित पठनपाठनको व्यवस्था रहे पनि भवन अपाङ्गमैत्री नहुँदा कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानाध्यापक ओझाले नयाँ भवन बनेपछि सहजता हुने बताए ।
भवनको बुधबार उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीलाई सहज र पहुँचयुक्त शिक्षा वातावरण बनाउन पालिकाले निरन्तर काम गरिरहेको बताए ।
तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले नयाँ भवनले विद्यार्थीका समस्या समाधानमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
हाल विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिका छात्रवासमा बसेर अध्ययनरत छन् ।













