भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘सत्यदेवी मन्दिर’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो स्थलमा वर्षभरि भक्तजन पूजाआजा गर्न आउने गर्छन् ।
स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा पूजाआजा गर्दै आएका छन् । साउन महिनाबाहेक हरेक सोमबार पञ्चबलि पूजा गरिँदै आएको स्थानीय राजकुमार राईले बताए । “देशका विभिन्न ठाउँबाट भक्तजन यहाँ पूजा गर्न आउँछन्, तर प्रचारको कमीले मन्दिर ओझेलमा परेको छ,” उनले भने ।
मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर, वैदेशिक रोजगार वा अन्य ठूलो सफलता प्राप्त होस् भन्ने कामना गर्दै यहाँ भाकल गर्ने प्रचलन छ । सोमबारको दिन विशेष रूपमा भक्तजनको भीड लाग्ने गर्दछ ।
जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको पहलमा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । मन्दिर संरक्षणका लागि पुरातत्व विभागबाट रु ७ लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई धारा, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको हो ।
भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थलको विकासमा सरकारको ध्यान आवश्यक रहेको स्थानीयवासीको माग छ ।














