दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा रहेको गौ संरक्षण केन्द्र दाताहरूको सहयोगमा सहज रूपमा सञ्चालन हुँदै आएको छ । विसं २०७६ देखि सञ्चालनमा आएको यो केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई छन् ।
व्यास नगरपालिकाले जथाभावी गाई छाडिँदा सडक दुर्घटना र फोहर बढेपछि केन्द्र स्थापना गरेको हो । यसको व्यवस्थापनमा स्थानीय सङ्घसंस्था र दाताको सहयोग मुख्य रहेको गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले जानकारी दिए । जन्मदिन, वैवाहिक वर्षगाँठलगायत अवसरमा व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् ।
मादी नदी किनारको करिब तीन सय रोपनी सार्वजनिक जग्गामा तारबार गरेर केन्द्र स्थापना गरिएको हो । “शुरुमा तारबार गर्नसमेत कठिन थियो, तर क्रमशः बजेट व्यवस्थापन गर्दै तीन सय रोपनी क्षेत्रलाई सुरक्षित गरी केन्द्र सञ्चालनमा ल्याएका छौँ,” अध्यक्ष सापकोटाले भने ।
दूध दिन छाडेका गाईको हेरचाहका लागि यो केन्द्र उपयोगी बनेको छ । मरेका गाईको छाला गिद्धका आहारका रूपमा प्रयोग गरिँदै आएको र अब हड्डीबाट आम्दानी गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।
केन्द्रले दमौली बजारका कुहिने फोहरबाट बायोग्यास उत्पादन पनि गरिरहेको छ । गाई संरक्षणसँगै फोहर व्यवस्थापन र ग्यास उत्पादन दुवै उद्देश्यका लागि केन्द्र काम गर्दै आएको सापकोटाले बताए ।
व्यास नगरपालिकाको सहयोगमा केन्द्रमा चार जना कर्मचारी नियुक्त छन् । नगरपालिकाले परालका लागि मासिक पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।














