काभ्रेपलाञ्चोक। अवरुद्ध बनेको नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ।
बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सडक बन्द भएको थियो। ४५ वर्षअघि बनेको पुल शनिबार राति मालवाहक गाडी पार गरेलगत्तै भाँचिएको थियो।
जिल्ला ट्राफिक कार्यालय बनेपाका अनुसार बनेपा नगरपालिका र सडक विभागको समन्वयमा गए राति छवटा ठूला ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरिएको हो।
नाला–च्यामासिङ सडकखण्ड काठमाडौंको पूर्वी नाका आवतजावत गर्न प्रयोग हुने वैकल्पिक मार्ग हो। अरनिको राजमार्गको सडक विस्तारका कारण पछिल्लो दुई वर्षदेखि अधिकांश सवारी यही बाटो प्रयोग गर्दै आएका थिए।