चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डको झण्डै आठ किलोमिटर भाग कालोपत्र गरिएको छ। हाल थप दुई किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा तथा धादिङतर्फ मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा चार लेनको झण्डै १४ मिटर चौडा सडक कालोपत्र गरिएको हो।
उहाँले भन्नुभयो, “मौसमले साथ दिएको खण्डमा दुई किलोमिटर थप कालोपत्र गर्ने तयारी छ। अहिलेसम्म झण्डै ३२ प्रतिशत भौतिक प्रगति भएको छ।”
यस सडकखण्डमा असारसम्म चारवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र तीमध्ये केहीमा बिम (गर्डर) राख्न तयारी भइरहेको जानकारी दिइएको छ। आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार पुलमा बिम राख्न भारतबाट हेभी उपकरण मगाउने तयारी निर्माण कम्पनीले गरिरहेको छ।
हाल चितवनतर्फको बारवाङ र मौवा खोला तथा धादिङतर्फको गौमती र खतौटीमा बिम चढाउने तयारी भइरहेको छ भने चरौँदी र हुग्दीमा फाउण्डेशन निर्माण कार्य जारी छ। असारको पहिलो सातादेखि बिम चढाउने कार्य थालिने र त्यस क्रममा सडक केही समय बन्द गर्नुपर्ने दरैले जानकारी दिए।
यस परियोजनामा २.२ किलोमिटर छ लेन, ७.२ किलोमिटर चार लेन, २.३ किलोमिटर ‘क्लाइम्बिङ’ लेन र बाँकी सडक दुई लेनको हुनेछ। छ लेन सडक मलेखु, बेनीघाट र मुग्लिन खण्डमा निर्माण हुनेछ भने चार लेन सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा निर्माण हुनेछ।
विकास योजना अनुसार, विसं २०७९ पुस १५ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी यो सडक निर्माणको ठेक्का दिइएको हो। ३८.८६ किलोमिटर लामो यो सडकखण्ड शर्मा–जेडआइसिजी जेभीले रु ४ अर्ब ८० करोड ५९ लाखमा निर्माण गरिरहेको हो।
यो सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहेको हो। सडक अन्तर्गत नाला निर्माण, पहिरो रोकथाम, पर्खाल निर्माण, सडक सुरक्षालगायतका कामहरू पनि सँगसँगै अघि बढाइएका छन्।