एक पटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानको लाग विवेकानन्दकोमा आए । स्वामीले प्रचारकलाई सोधे, तपाईंहरुको सभाको उद्देश्य के हो ?
प्रचारक महोदायले भने, हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । स्थान स्थानमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेको गौमाताको पालन गर्छाैं ।
स्वामी गदगद हुँदै बोले, बडो प्रशंसनीय कुरा हो । तर सभाको आय कसरी हुन्छ ?
प्रचारकले भने, मारवाडी वैश्य सम्प्रदायले यो कामको लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईं जस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ ।
स्वामीले भने, मध्य भारतमा यो वर्ष भयंकर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता ग¥यो ?
प्रचारकले भने, हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गोरक्षको कार्य गर्छ । त्यसै पनि मानिसको कर्मफल अर्थात् पापको कारण यो अनिकाल परेको हो, उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।
प्रचारकको यस्तो कुरो सुनेर स्वामी रिसले चू भए, तर पनि संयमित हुँदै भने, जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैनन्, आफ्ना दाजुभाइ अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्नको लागि उद्यत हुँदैनन् भने म त्यो सभा या समितिमा लेशमात्र पनि सहानुभूति राख्दिनँ । यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने भन्न सकिन्छ गौमाताहरु पनि आफ्नो कर्मको कारण कसाइकोमा पुग्छन् । उनीहरुको रक्षाको लागि म आर्थिक सहायता गर्न सक्दिनँ, किनकि म साधुसन्यासी हुँ । मसँग रुपैयाँ पैसा कहाँबाट आउँछ ? तर म यो पनि भन्छु कि यदि मसँग कतैबाट पैसा आयो भने पनि म पहिले त्यो पैसा मानिसको सेवाको लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।
साँचो यही हो, जुन मानिसको हृदय अरु मानिसको दुःखमा पग्लँदैन त्यो मानिस भनिन योग्य हुँदैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट