कोठमाडौं । कोशीमा लोपन्मुख प्रजातिको माछा फेला परेको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।
भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालका प्रत्यक्षदर्शीहरुले उक्त माछा कोशीमा फेला परेको जनाएका छन् ।
पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सम्बन्धी लेख प्रकाशित गरेको छ ।
अनुसन्धानकर्ता जसहाङ लिम्बूले माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गर्दा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको बताएका छन् । उनीहरुका अनुसार उक्त माछा विश्वमा नै दुर्लभ हो ।
तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गर्दा नयाँ प्रजातिको माछा फेला परेको हो । अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको बताएका छन् ।













