काठमाडौं : रोटरी क्लब अफ काठमाडौंले ग्लोबल ग्रान्ट प्रोजेक्ट GG2683608 अन्तर्गत वीर अस्पताललाई अत्याधुनिक युरोलोजी शल्यक्रिया उपकरण हस्तान्तरण गरेको छ। उक्त परियोजनाको कुल लागत ३५ हजार ९१६ अमेरिकी डलर अर्थात् करिब ५० लाख रुपैयाँ रहेको छ।
उपकरण हस्तान्तरण समारोहमा वीर अस्पतालका अस्पताल निर्देशक डा. विकास नेपाल, युरोलोजी विभाग प्रमुख प्रा. डा. रोबिन बस्नेत, रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष रोटेरियन प्रा. डा. पुष्पराज शर्मा, उपाध्यक्ष तथा परियोजनाका प्राथमिक सम्पर्क व्यक्ति रोटेरियन आशिष जाजोडिया, पूर्वअध्यक्ष रोटेरियन नारायण खरेललगायत रोटेरियन तथा अस्पतालका अधिकारीहरूको उपस्थिति रहेको थियो।
युरोलोजी विभागमा आवश्यक उपकरणको अभावबारे प्रा. डा. रोबिन बस्नेतले समाचारपत्रमार्फत सार्वजनिक गरेको विषयलाई आधार बनाएर यो परियोजना अघि बढाइएको हो। परियोजनाको मुख्य उद्देश्य शल्यक्रियाका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थालाई कम गर्नुका साथै आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।
यस परियोजनामा नेपाल, अमेरिका र अष्ट्रेलियाका विभिन्न रोटरी क्लब तथा जिल्लाहरूको सहभागिता रहेको छ। अन्तर्राष्ट्रिय सहकार्य, मानवीय सेवा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने रोटरीको भावना अनुरूप परियोजना कार्यान्वयन गरिएको क्लबले जनाएको छ।
परियोजनामा द रोटरी फाउन्डेसन, रोटरी डिस्ट्रिक्ट ३२९२, ५२८० र ५१०० तथा रोटरी क्लब अफ काठमाडौं, हिस्टोरिक फिलिपिनोटाउन (लस एन्जलस), न्यूबर्ग, सलेम, अल्बरी, साउथ वागा वागा र लेक ओस्वेगोको सहयोग तथा साझेदारी रहेको छ।
रोटरी क्लब अफ काठमाडौंले परियोजनामा सहयोग गर्ने सम्पूर्ण साझेदार संस्था, रोटेरियन तथा वीर अस्पतालको टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवा सुधारका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।



















