काठमाडौं।गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थालेको छ। तीन वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर निर्माण गरेको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले भत्काएको हो।
सडक खोलाले भत्काउन थालेपछि यहाँबाट यात्रा जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए। धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड बन्द भए विद्यार्थीलाई अप्ठ्यारो हुने उनको भनाइ छ।
गोकर्णेश्वर–३ का प्राविधिकसमेत रहनुभएका कर्माचार्यले पर्खाल बनाउन प्रयोग गरिएका ढुङ्गा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको बताए।
सडक जोखिममा परेपछि आज बिहान नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गरेका छन्। धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए।













