काठमाडौं । आफुलाई नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने ५२ वर्षीय प्रविण श्रेष्ठलाई पक्राउ गरेको हो ।
एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियोमा देखिए र सुनिए अनुसार उनले ‘म डीएसपी हुँ, नागरिकता छ रु’ भन्दै मान्छे थर्काउँदै हिँडेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।
उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी प्रहरी कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।













