आज बिहीबार । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान् विष्णुको पूजा गरिन्छ । साथै, यो दिन लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । सनातन हिन्दु परम्परा अनुसार बिहीबारका दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने बताइको छ ।
यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ । व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।













