सङ्कल्प-विकल्प धेरै उठतैनन् भने केही उपायको अनुष्ठानको आवश्यकता छैन । म को हुँं ? भन्ने प्रश्नमा लक्ष्य राखेर आफ्नै प्राणका साथमा रहन सक्नुपर्छ यही सिद्धि हो । सङ्कल्प÷विकल्प धेरै छन् भने नियम राखेर गुरुआज्ञा प्रमाण श्वास स्मृतिको एकता गर्नु, ॐको जाप गर्नु, आवश्यकता कम गर्नु, धेरै इच्छा तृष्णा प्रपञ्च नबढाउनु, निन्दास्तुति गाउँले घरेलु कुराकानीका कुरा नलगाउनु आदिमा ध्यान दिनुपर्छ । जीवन क्षणिक छ परन्तु अत्यन्त बहुमूल्य छ । भौतिक पदार्थद्वारा जीवन किन्न सकिन्न भन्ने निश्चय मनमा राखी सन्तोष, विवेक अनासक्ति एवं त्यागको अर्थ सम्झनु र त्यसै अनुसार बाँच्ने प्रयास गर्नुपर्दछ । यही हो साधन, यही हो उपासना र यही हो सत्सङ्ग ।
अनित्य एवं मिथ्याको त्याग गरेपछि जो छ जे हुँदै छ । त्यस प्रवाहका साथमा, समता, उदारता, अकिञ्चनता, एवं मौन भावका साथ रहन सके आफ्नो जीवन आफै सत् चित् आनन्दको प्रकाश बन्न जान्छ । सम्झना, कल्पना, आएर वार्तालापका क्रममा महत्त्वाकाङ्क्षी भएर, मन नपर्दो हुनेबित्तिकै आत्तिएर, स्थितिमा विकार आउनु नै कमजोरी हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













