न्युयोर्क।अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले अमेरिका र नेपालका नागरिक(नागरिकबीचको सम्बन्ध महत्त्वपूर्ण भएको बताएका छन्।
नेपालको संविधान दिवस, २०८० का अवसरमा मंगलबार विदेशमन्त्री ब्लिंकेनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुंगाको काम गरेको बताए।
विदेशमन्त्री ब्लिंकेनले सन्देशमा भनेका छन्, ‘अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु। आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ।’
‘नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु। अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईंहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, विदेशमन्त्री ब्लिंकेनद्वारा जारी सन्देशमा उल्लेख छ।













