गेडागुडीलाई निश्चित समयसम्म भिजाएर अंकुरित भइसकेपछि खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाल, गहुँ, भटमास, चना, बोडी, केराउ, सिमी, मेथी आदिका दानालाई राम्ररी धोइपखाली गरेर सफा र स्वच्छ पानीमा १२ घण्टासम्म भिजाएर राखी बाँकी रहेको पानी फाली फेरि धोएर घाम नलाग्ने अँध्यारो ठाउँमा राख्ने । ५÷६ घण्टाको फरकमा राम्रोसँग धुँदै गर्ने । यसरी राखेको दुई–तीन दिनभित्र गेडागुडी अंकुरित हुन्छन् ।
अंकुरित गेडागुडीलाई काँचै वा हल्का बफाएर समेत खान सकिन्छ । काँचै खाँदा यसमा भएका पौष्टिक तत्वहरु नष्ट नहुने हुनाले बढी फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा प्रचुर हुने हुनाले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगबाट बचाउँछ ।
जुनसुकै मौसममा उत्पादन गर्न सकिने टुसाएका गेडागुडीमा मासुमा भन्दा बढी पौष्टिक तत्वहरु पाइन्छ । टुसाएका गेडागुडीमा भिटामिन ए, भिटामिन बी र भिटामिन सीको मात्रा समेत प्रचुर पाइन्छ । टुसाएका गेडागुडीको सेवनले पाचन प्रणालीलाई सहयोग गर्नुका साथै अखाद्य पदार्थहरु नष्ट गरी गुणस्तरमा वृद्धि गर्ने हुँदा कब्जियत, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगबाट बचाउन मद्दत गर्छ ।
टुसाएका गेडागुडीको नियमित सेवनले घाउहरु चाँडै निको पार्ने, तौल घटाउने र एन्टिबडी इन्जाइम्स र हर्मोनहरु बनाउने कार्यमा टेवा पु-याउँछ । महिलामा महिनावारी रोकिएपछि हुने समस्या जस्तै पसिना आउने, शरीर तात्ने, हड्डी कमजोर हुने र महिनावारी हुनुभन्दा अगाडि देखिने समस्यामा पनि उपयोगी हुन्छ । टुसाएका ब्राउन राइस, मेथी आदि खाँदा मधुमेह, बाथ तथा मुटु र रक्त नलीगत रोगमा फाइदा पुग्छ । त्यसैले अमृत समान टुसाएका गेडागुडी र खाद्य पदार्थहरु खाएर रोग लाग्ने अवस्थाबाट बचौं ।













