जन्मदेखि लिएर मृत्युसम्म चलिआएको निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । उनीहरुले पर्वहरूमा मात्र नभएर दिनदिनै भगवान्को पूजापाठलाई पनि महत्व दिइरहेका हुन्छन् । दिनदिनै पूजापाठ गर्नेहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् तर जानकारीको अभावमा या अन्य केही कारण केही मानिसहरूले भने देवताका साथसाथै आफ्ना पूर्वजहरूको तस्वीर पनि पूजाकोठामा राख्ने गरेको पाइन्छ ।
वास्तुशास्त्रका अनुसार पूजाकोठामा पितृहरूको तस्वीर राख्दा परिवारमा अशान्ति र दुर्भाग्य छाउँछ । हिन्दू धर्मअनुसार आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यस्तै मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ र त्यस प्राणहीन शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो किनकि भगवान्को त जन्म र मृत्यु हुँदैन, पृथ्वीमा अवतार र पुनर्गमन मात्र हुन्छ ।
वास्तुशास्त्र अनुसार भगवान्को तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्नुपर्छ । पूजाकोठा पनि उत्तरपूर्वमै हुनुपर्छ । मृत पूर्वजहरूको तस्वीर घरको दक्षिणपश्चिमतिरको अर्कै कोठामा राख्नु उपयुक्त हुन्छ । यसरी वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्छ अनि आर्थिक सङ्कटको स्थिति आइलाग्न सक्छ ।













