पोखरा, २९ चैत । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पीडितले न्याय पाएको अनुभूति गर्ने गरी न्याय सम्पादन हुनु पर्नेमा जोड दिनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौद्धारा बुधबार पोखरामा आयोजित लैंगिक नयायको सन्दर्भमा अनुसन्धान अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील तथा न्याय सम्पादनमा सम्लग्न अधिकृतबीचको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरामा जोड दिनुभएको हो ।
कुनैपनि घटनमा जाहेरीको पछाडि कुद्नु भन्दा पनि प्रभावकारी अनुसन्धानले गर्दा घटनाको सत्यतथ्य कुरा प्राप्त गर्न सकिने भनाई पोखरेलको थियो । ‘सरकारी वकीलले जहिले पनि सत्यको खोजी गर्नुपर्छ,, उहाँले भन्नुभयो– सत्यको खोजी खरिएन भने पीडितले न्याय नपाउने अवस्था पनि आउन सक्छ,।’विद्युतीय अपराध सम्बन्धी मुद्दाको क्षेत्राधिकार जिल्लामा नै हेर्ने व्यवस्था मिलाउन लागिएको जानकारी पनि उहाँले उत्त: अवसरमा दिनुभयो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले फौजदारी न्याय प्रणालीलाई गहिरो रुपमा अनुसन्धान गर्न आवश्यक भएको बताउँदै अनुसन्धान कर्ता प्रहरीले पनि गम्भीरतापूर्वक यस्ता घटनालाई लिइदिनुपर्नेमा जोड दिनुभयो । ‘प्रहरी अनुसन्धान फितलो भयो भने वास्तरिक पीडितले न्याय पाउनबाट बञ्चित पनि हुन सक्छन्, उहाँले भन्नुभयो– प्रारम्भीक अनुसन्धानमा कमजोरी भयो भने त्यसको दोष नायायलय र न्यायाधीशलाई आउने गरेको छ ।’
गण्डकी प्रदेशका महान्यायाधिवक्ता श्रीकान्त बरालले लैङ्गिक कानूनमा केही कमजोरी देखिएको बताउँदै घटनाका बारेमा परम्परागत भन्दा पनि नयाँ ढंगबाट अनुसन्धान शुरु गर्नुपर्नेमा जोड दिनुभयो । हामी न्यायकर्मीको दायित्व वास्तविक पीडितलाई न्याय दिलाउनु नै हो, त्यस कार्यप्रति कोही चुक्न नहुने भनाई उहाँको छ । अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका अनुसन्धान अधिकृत तथा न्यायसम्पादन अधिकृतहरुको सहभागिता रहेको थियो । सो अवसरमा पदमप्रसाद पाण्डे लगायते आफ्ना भनाइ राख्नुभएको थियो ।













