काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रपति चुनिएसँगै आव उपराष्ट्रपतिको चुनाव हुँदैछ । उक्त चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
माओवादीका एक मन्त्रीका अनुसार अब उपराष्ट्रपतिको चुनावसकिएलगत्तै सत्ता साझेदार दलसँग छलफल र परामर्श हुनेछ् । सत्ता साझेदार दलको बैठकमा कसरी जाने भन्ने सुझाव आउँछ त्यसपछि मात्रै टुङ्गो उनले बताए ।
प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजे पनि समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो ।
प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने आँकलन गरिएको छ । रास्वपाले सत्ता गठबन्धनलाई समर्थन गरेपछि सरकारमा जाने अनुमान गरिएको छ । तर, पार्टी सभापति रावि लामिछानेले सरकारमा जानेबारे नसोचेको बताए । उनले यसबारे पार्टीमा छलफल गर्ने बताएका छन् ।