१. भोजनको साथमा भुलेर पनि पानी पिउनु हुँदैन । मोही एक या दुई गिलाससम्म पिउन सकिन्छ । भोजनको साथमा धेरै पानी पिउनाले पाचनक्रिया सञ्चालन गर्ने पाचक रस पातलो हुन्छ, फलस्वरुप भोजन ठीकसँग पच्दैन ।
२. चिल्लो भोजनपछि तत्काल चिसो पानी पिउनाले भोजन नलीमा चिल्लो टाँसिएर खसखस पैदा गर्दछ । आमाशयमा पुगेको चिल्लो पच्न कठिन हुन्छ । बरु चिल्लो भोजनपछि आधा गिलास मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ ।
३. भोको मानिसले पहिले भोजन गर्नु, तिर्खाएकोले पहिले पानी पिउनु राम्रो हुन्छ । भोको मानिसले पेटभर पानी पिउँदा जलोदर नामक रोग हुने डर हुन्छ । तिर्खाएकोले पानी पिउनुभन्दा पहिले भोजन गरेमा गुल्म या गानो नामक पेटको दर्दनाक रोग हुने डर रहन्छ । त यो एक दुई पटक असावधान हुँदैमा हुने नभई लामो समयसम्म बारम्बार असावधान रहेमा हुन जान्छ ।
४. पानी नपिउनु या धेरै पानी पिउनु दुवै खतरनाक मानिन्छ । अवस्था हेरी आवश्यक पानी पिउनु पर्दछ । कब्जबाट मुक्त हुन चाहेमा प्रतिदिन सरदर तीनदेखि चार लिटर पानी पिउनुपर्दछ । उच्च रक्तचापका रोगीहरुले अवस्था हेरी पाँचदेखि आठ लिटरसम्म प्रतिदिन पानी पिउनुपर्दछ ।
५. चौबीस घण्टामा केवल एकपटक बिहान पेटभरि पानी पिउनु लाभदायक हुन्छ अन्यथा एक पटक पानी पिएकपछि आधा या एक घण्टाभन्दा पहिले पानी पिउनु आवश्यक हुँदैन र एक पटकमा एक गिलासभन्दा बढी पानी पिउनु स्वास्थ्य अनुकूल हुँदैन ।
६. पसिना आउने गरी व्यायाम गरेर, चर्काे घाममा बाहिरबाट हिँडेर आएर या दौडिएर आएर या खेल्दाखेल्दैका अवस्थामा जतिबेला पसिना आएको, श्वास बढेको र शरीरको तापक्रम बढेको हुन्छ त्यति वेला शरीर साधारण तापक्रममा नआएसम्म चिसो पानी या अन्य पेय पिउनु हुँदैन । सामान्य तापक्रमको पेय ढिलो ढिलो गरी पिउनुपर्दछ । सकेसम्म विश्राम गरी पसिना सुकेपछि मात्र पानी पिउनुपर्दछ ।
साभारः ‘आरोग्यको मूलबाटो’ पुस्तकबाट