पोखरा, १५ फागुन । १३ औं रुपा तालबेंँसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यही फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम स्थल तालबेंसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो।
महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबँेसी फागु महोत्सव आयोजना गर्दै आएको उहाँले बताउनुभयो । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको जानकारी उहाँले दिनुभयो । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेँसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको वताइएको छ ।
गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले तालबेँसीको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन समेत दिनुभयो । ‘रुपा तालबेँसी फागु महोत्सव संस्कार झल्काउने कार्यक्रम हो । जसलाई सफल पार्ने दायित्व हामी सबैको हो । गण्डकी सरकार र मेरो व्यक्तिगत तर्फबाट हुन सक्ने सहयोग गर्छु ।’, उहाँले भन्नुभयो । उनले महोत्सव जस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताए । ग्रामीण भेगको संस्कृतिको उन्नयनका लागि महोत्सवले महत्पूर्ण भूमिका खेल्ने विश्वास उहाले व्यक्त गर्नुभयो ।
आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर…’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेख्नुभएको हो । धनबहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।