काठमाडौँ, ४ मङ्सिरः प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्नुहुनेछ ।
सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।




















