काठमाडौं । नेपाली सेनाले सैनिक प्रवक्ता परिवर्तन गर्ने निर्णय गरेको छ । हाल सैनिक प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सरुवा गरेर सहायक रथी राजेन्द्र श्रेष्ठलाई नयाँ प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको हो ।
जंगी अड्डा स्रोतका अनुसार, यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व श्रेष्ठले सम्हाल्नेछन् । त्यसका लागि एक–दुई दिनभित्रै जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
सहायक रथी बस्नेत अघिल्लो असारमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नियुक्त भएका थिए । करिब १७ महिनापछि उनको सरुवा हुन लागेको हो । नेपाली सेनामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकलाई नै सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी दिने अभ्यास छ ।
नयाँ प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका सहायक रथी श्रेष्ठ प्राविधिक पृष्ठभूमिका सैनिक अधिकारी हुन् । सैनिक अधिकारीहरूका अनुसार उनी इन्जिनियर हुन् भने बम निष्क्रिय पार्ने कामका विज्ञसमेत हुन् । नेपाली सेनाको इतिहासमा प्राविधिक पृष्ठभूमिका सहायक रथीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिन लागिएको यो पहिलो पटक भएको सैनिक अधिकारीहरूको भनाइ छ ।
यद्यपि, सैनिक प्रवक्ता बस्नेतले भने आफ्नो सरुवासम्बन्धी प्रक्रिया औपचारिक रूपमा सुरु भइनसकेको बताएका छन् । यसबारे जिज्ञासा राख्दा उनले भने, ‘प्रक्रिया सुरु नै भएको छैन, भएपछि खबर गर्छु नि ।’
जंगी अड्डा स्रोतका अनुसार, जेनजी आन्दोलनदेखि हालसम्म सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्वमा रहँदा बस्नेतले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई आफ्नो सचिवालयमा ल्याउने निर्णय गरेका हुन् ।
सरुवापछि बस्नेतले प्रधानसेनापतिको सैनिक सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी छ । नयाँ प्रवक्ताका रूपमा श्रेष्ठको नियुक्तिसँगै नेपाली सेनाको सूचना तथा जनसम्पर्कसम्बन्धी जिम्मेवारीमा नयाँ नेतृत्व आउनेछ ।




















