काठमाडौं। भुटानमा गएराति आएको आकस्मिक बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।
बाढीले गासा जिल्लाको छाचु क्षेत्र प्रभावित बनाएको छ भने मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ।
बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ। त्यस्तै, लाया गेओगअन्तर्गत टोङचुद्राक क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ।
बाढीबाट मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको अधिकारीहरूले बताएका छन्।
भुटानको गासा जिल्लास्थित लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेको सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको आशंका गरिएको हो। मो छू नदीको मुहान क्षेत्रमा पर्ने यो हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो।
सामाजिक सञ्जालमा सार्वजनिक केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको देखिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सुरक्षाकर्मी, कर्मचारी र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी तथा आगन्तुकलाई पनि सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।
त्यस्तै, पुनाखाको येबिसा क्षेत्रमा बाढीको पानी पुगेपछि सेन्ट्रल स्कुलका आवासीय विद्यार्थीलाई अग्लो र सुरक्षित स्थानमा सारिएको विद्यालयले जनाएको छ।
यसैबीच, भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको तासिथाङ र येबिसा क्षेत्रमा जलस्तरको निरन्तर निगरानी गरिरहेको छ। मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका पूर्वसूचना प्रणालीका साइरनसमेत सक्रिय पारिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका युनिट बन्द गरेको छ। आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको जनाएको छ।
हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ। बाढीको वास्तविक परिमाण र भौतिक क्षतिको विस्तृत विवरण पनि संकलन भइरहेको छ।




















