काठमाडौं । सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालबाट अपलोड गरिएका २० लाखभन्दा बढी भिडियो हटाएको छ। कम्पनीले सार्वजनिक गरेको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा नियम उल्लंघन गरेको भन्दै नेपालका २० लाख ३६ हजार १९१ भिडियो प्लेटफर्मबाट हटाइएका हुन्।
प्रतिवेदनअनुसार हटाइएका भिडियो नेपालमा उक्त अवधिमा अपलोड भएका कुल भिडियोको ०.४ प्रतिशत हुन्। टिकटकले नियमविपरीतका सामग्री पहिचान गर्न स्वचालित प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ।
नेपालमा हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ता वा सर्वसाधारणले रिपोर्ट गर्नुअघि नै टिकटकको प्रणालीले पहिचान गरेको थियो। त्यस्तै, ९२।३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्र हटाइएको प्रतिवेदनमा उल्लेख छ।
तर, सामग्री हटाउने प्रक्रियामा त्रुटि हुन सक्ने स्वीकार गर्दै टिकटकले आन्तरिक पुनरावलोकन र प्रयोगकर्ताको अपिलपछि ३३ हजार ५०३ भिडियो पुनःस्थापना गरेको छ। यसले नियम कार्यान्वयनसँगै गलत निर्णय सच्याउने प्रक्रिया पनि अपनाइएको कम्पनीको प्रतिवेदनले देखाउँछ। समीक्षा अवधिमा टिकटकले विश्वभरबाट १८ करोड ८२ लाख ९८ हजार १४१ भिडियो हटाएको छ। यो अवधिमा प्लेटफर्ममा प्रकाशित कुल भिडियोको करिब ०.५ प्रतिशत हो। कम्पनीले सामुदायिक निर्देशिका उल्लंघन गर्ने सामग्री हटाएर प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले निगरानी र कारबाही जारी राखेको जनाएको छ।
टिकटकले भिडियोमा मात्र नभई प्रयोगकर्ता एकाउन्ट र कमेन्टमा पनि कारबाही गरेको प्रतिवेदनमा उल्लेख छ। विश्वभर १४ करोड ६८ लाख ७ हजार ४०० भन्दा बढी नक्कली एकाउन्ट बन्द गरिएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ एकाउन्ट हटाइएको छ। सामुदायिक निर्देशिका उल्लंघन गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टसमेत हटाइएको कम्पनीले जनाएको छ।
टिकटकले लाइभ स्ट्रिमिङमार्फत हुने नियम उल्लंघन नियन्त्रण गर्न पनि निगरानी बढाएको छ। प्रतिवेदनअनुसार प्रकाशित कुल लाइभ सामग्रीमध्ये २।४ प्रतिशत निलम्बन गरिएको थियो। यस अवधिमा सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसनमा कारबाही गरिएको छ भने दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिइएको वा उनीहरूको आम्दानी गर्ने सुविधा हटाइएको छ। यद्यपि, पुनरावलोकनपछि २३ लाख ९८ हजार ८४६ लाइभ सेसन पुनःस्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।
टिकटकको पछिल्लो तथ्यांकले नियम उल्लंघन गर्ने सामग्री नियन्त्रणमा स्वचालित प्रविधिको भूमिका बढ्दै गएको देखाउँछ। साथै, हटाइएका सामग्री पुनःस्थापना गरिनुले सामग्री नियमनमा अपिल र पुनरावलोकन प्रक्रिया पनि महत्त्वपूर्ण रहेको संकेत गरेको छ ।




















