काठमाडौं। पर्यटकीय राजधानी पोखरामा आगामी कात्तिक ८ गते दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ। लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने यस महोत्सवको नारा ‘टीका, जमरा र चङ्गा चेट-पोखरामा पर्यटकसँग दसैँ भेट’ तय गरिएको छ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य दसैँलाई पारिवारिक पर्वका रूपमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग जोड्नु रहेको कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन्। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न समुदायको मौलिक सांस्कृतिक प्रस्तुति राखिनेछ। साथै, नेपाली खानाका परिकार, परम्परागत सामग्री र स्थानीय उत्पादनहरू पनि प्रदर्शनीमा राखिनेछन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोड्नु संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने अवसर भएको बताए। उनले भने, “दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो। यसलाई पर्यटनसँग जोडेर देश-विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ। यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन। पोखराका सबै पर्यटन सम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ।”
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले यो महोत्सव पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताइन्। ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला र परम्परालाई पर्यटकमाझ पुर्याउन महोत्सव सफल हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ।”













