काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसअघि शिक्षा मन्त्रालयमा राखिएको शोक पुस्तिकामा शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रमुख सल्लाहकार झा लगायत मन्त्रालय तथा काठमाडौं विश्वविद्यालयका पदाधिकारीले हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मन्त्री पोखरेलले शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति समवेदना व्यक्त गरे । उनले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको बताए ।
बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशकसमेत थिए । उनले दुई दशकभन्दा लामो समय काठमाडौं विश्वविद्यालयको नेतृत्व गरेका थिए । त्यस क्रममा विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शर्माले जुम्ला, दोलखाको जिरी र धनकुटामा प्राविधिक शिक्षा सुरु गर्न योगदान गरेका थिए । उनले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए । शर्माको बुधबार निधन भएको थियो ।













