अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित गर्न आदेश दिएका छन् ।
अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले जारी गर्नुभएको आदेश १४ दिनसम्म लागू हुनेछ । उहाँले सञ्चारमाध्यमहरूले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताउनुभएको छ । उहाँका अनुसार प्रतिबन्धले सञ्चारमाध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको छ ।
तीनै सञ्चारमाध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दाबी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्राप्त प्रेस स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको जिकिर गरेका थिए । न्यायाधीश केलीले प्रशासनले पत्रकारको प्रवेश रोक्नुअघि पर्याप्त कानूनी प्रक्रिया पूरा गरेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले ती सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै प्रवेशमा प्रतिबन्ध लगाउनुभएको थियो । प्रशासनले भने प्रतिबन्ध समाचारको विषयवस्तुका कारण नभई राष्ट्रिय सुरक्षालगायत कारणले लगाइएको दाबी गरेको छ ।
सुनुवाइमा सञ्चारमाध्यमका अधिवक्ता थियोडोर बोउट्रस जुनियरले महत्त्वपूर्ण समाचारका समयमा पहुँच रोकिँदा अपूरणीय क्षति हुने तर्क गर्नुभएको थियो । सरकारका अधिवक्ता माइकल भेल्चिकले भने ह्वाइट हाउसमा कसलाई प्रवेश दिने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गर्दै ‘ह्वाइट हाउसमा पहुँच एउटा विशेषाधिकार हो, अधिकार होइन’ भन्नुभएको थियो ।
न्यायाधीश केलीलाई राष्ट्रपति ट्रम्पले सन् २०१७ मा सङ्घीय न्यायाधीशमा नियुक्त गर्नुभएको थियो । उहाँले यसअघि सीएनएनका पत्रकार जिम एकोस्टाको ह्वाइट हाउस प्रवेश अनुमति पुनःस्थापित गर्न आदेश दिनुभएको थियो ।












