काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई समर्थन गर्दा आफू राष्ट्रपति बन्न खोजेको भन्ने टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।
गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको स्पष्ट गर्दै अहिलेको व्यवस्थामा राष्ट्रपतिको भूमिका प्रभावकारी नरहेको टिप्पणी गरे ।
‘राजनीतिमा नयाँ पुस्ताको कुरा गर्दा र समर्थन गर्दा बाबुराम फेरि नयाँतिर लाग्यो, राष्ट्रपति हुन खोजेको हो भन्ने कुरा गर्छन्,’ उनले भने, ‘अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो ।’
आफूलाई राष्ट्रपतिको पदप्रति कुनै लोभ नरहेको भट्टराईले बताए । आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै उनले कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्तिले राष्ट्रपतिको पदका लागि लोभ गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।
‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ । राष्ट्रपतिमा लोभ गर्ने कुरा पनि होइन,’ उनले भने, ‘कार्यकारी प्रधानमन्त्री भइसकेको मान्छेले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन ।’
भट्टराईले आफूले कुनै पदको आकांक्षाका आधारमा नभई राजनीतिक विचारका आधारमा धारणा राख्ने गरेको बताए । आफ्नो विचारअनुसार राजनीतिक बहस अघि बढाउँदा त्यसलाई पदको आकांक्षासँग जोड्न नहुने उनको भनाइ छ ।
‘मैले त विचार दिने हो । मैले विचार दिएका आधारमा पद खोज्यो भन्छन्,’ उनले भने, ‘यसबाट माथि उठ्नुपर्यो । कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ ।’













