काठमाडौँ। राष्ट्रियसभा सदस्यहरूले भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले रोल्पा, जाजरकोटलगायत जिल्लामा पहिरो र चट्याङका कारण भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए। उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गरे।
नेकपा (एमाले) की सांसद राजेन्द्रलक्ष्मी गैरेले भारी वर्षाका कारण देशभर प्रभावित नागरिकको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान जानुपर्ने बताइन्। नवलपरासीको सुस्ता क्षेत्र डुबानमा परेको उल्लेख गर्दै उनले प्रभावित स्थानीयको तत्काल उद्धार गर्न माग गरिन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनजीवन र यातायात प्रभावित भएको भन्दै प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरोलगायत विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको निःशुल्क उपचार तथा विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार र सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले बाढी, पहिरो तथा डुबानबाट उत्पन्न समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
यसैगरी, नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दङ्गालले बहुदलीय प्रजातन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीलगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएको र नेपाली जनताको जीवनस्तरमा सुधार आएको तथ्यलाई भुल्न नहुने धारणा व्यक्त गरे।













