तुलसीपुर (दाङ), १ भदौः तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन ।
उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्नुहुन्छ ।
“बस्ती बसेको लामो समय भयो, तर तरकारीखेती हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो । अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।”
आफूले पनि अहिले डेढ बिघामा तरकारीखेती गर्ने गरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उहाँको भनाइ छ । “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चाबच्चीलाई सहजै पढाउन सकिएको छ ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन् । फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उहाँको भनाइ छ ।
अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारीखेती गर्नुहुन्छ । उहाँले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गुर्नहुन्छ । “मैले तरकारीखेती गर्न थालेको १२ वर्ष भयो”, उहाँले भन्नुभयो, “राम्रो आम्दानी गर्दै आएको छु ।”
हिउँदे सिजनमा भने उहाँले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्नुहुन्छ । खेतीबाटै भएको आम्दानीले घरव्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उहाँको भनाइ छ ।
त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आउनुभएको छ । उहाँले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारीखेती गरेको सुनाउनुभयो । त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।
त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उहाँको भनाइ छ । अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारीखेतीमा व्यस्त छन् । स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन् । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् ।
किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ । बीउ बैंक सञ्चालन भएको छ । त्यसबाट किसान उत्पे्ररित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिनुभयो ।












