काठमाडौँ । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनकै दिन चन्द्रागिरि नगरपालिकाका स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।
नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा आयोजनाबाट प्रभावित स्थानीयका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको हो।
संघर्ष समितिले सुरुङमार्ग क्षेत्रका स्थानीयका लागि आकाशेपुल तत्काल निर्माण गर्न, सडकपेटी फराकिलो बनाउन, प्रभावितलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ र ट्राफिक लाइटको उचित व्यवस्था मिलाउन तथा निर्माणाधीन फ्लाइओभरको काम शीघ्र अघि बढाउन माग गरेको छ।
समितिले उक्त फ्लाइओभरको नाम ‘किसिपिडी फ्लाइओभर’ राख्नुपर्ने मागसमेत अघि सारेको छ।स्थानीयले आयोजना सञ्चालनसँगै आफूहरूका सुरक्षा, आवागमन र जीविकोपार्जनसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।













