काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयनजिक एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मृतक थाहा नगरपालिका–३ चित्लाङका आसमान गोपाली रहेको प्रारम्भिक रूपमा पहिचान भएको छ । घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको प्रहरीले जनाएको छ ।
मृतकसँगै रहेकी भनिएकी एक महिला घटनापछि सम्पर्कविहीन भएकी छन् । उनको खोजी भइरहेको र घटनासँग सम्बन्धित विभिन्न पक्षमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री घटनास्थलमा पुगेका थिए । उनको नेतृत्वमा प्रहरीले घटनास्थललाई सुरक्षित राखेर प्रमाण संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टसहितको टोली पनि घटनास्थलमा परिचालित छ । हेटौँडा–११ की वडाध्यक्ष पनि घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय तथा आवश्यक सहयोगमा जुटेकी छन् ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृत्युको वास्तविक कारण, घटनाको प्रकृति तथा सम्पर्कविहीन महिलाको भूमिकाबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।













