अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि ‘पूर्ण र सम्पूर्ण’ नाकाबन्दी लगाउने आदेश दिएको बताएका छन् ।
ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भेनेजुएलाका नेता निकोलास मादुरोको सरकारलाई विदेशी आतंकवादी संगठनका रूपमा सूचीकृत गरिएको उल्लेख गर्दै अमेरिकाका सम्पत्ति चोरेको, साथै ‘आतंकवाद, लागूपदार्थ तस्करी र मानव तस्करी’ मा संलग्न रहेको आरोप लगाए ।
‘त्यसैले आज म भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण र सम्पूर्ण नाकाबन्दीको आदेश दिँदैछु,’ उनले थपे। उनका यी टिप्पणीहरू अमेरिकोले भेनेजुएलाको तट नजिकै एक तेल ट्यांकर नियन्त्रणमा लिएपछि एक सातापछि आएका हुन्। भेनेजुएला सरकारले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको “घिनलाग्दो धम्की” अस्वीकार गरेको जनाएको छ।
आफ्नो पोस्टमा ट्रम्पले भेनेजुएला ‘दक्षिण अमेरिकाको इतिहासमै अहिलेसम्म जम्मा गरिएको सबैभन्दा ठूलो नौसैनिक बेडाद्वारा पूर्ण रूपमा घेरिएको’ दाबी गरे।
ट्रम्पले मादुरो सरकारमाथि चोरी गरिएको तेल प्रयोग गरी ‘आफ्नो खर्च जुटाउने, ड्रग आतंकवाद, मानव तस्करी, हत्या र अपहरण’ गर्ने आरोप पनि लगाए।
ट्रम्प प्रशासनले पटक–पटक भेनेजुएलामाथि लागूपदार्थ तस्करीको आरोप लगाउँदै आएको छ। सेप्टेम्बरयता अमेरिकाले फेन्टानिल तथा अन्य अवैध लागूपदार्थ अमेरिका पठाइँदै गरेको आरोपमा डुंगामाथि गरेको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको जनाएको छ । हालका महिनाहरूमा अमेरिकाले यस क्षेत्रमा युद्धपोतहरू पनि पठाएको छ।
विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको भेनेजुएलाले भने वाशिङ्टनले आफ्ना स्रोतहरू लुट्न खोजिरहेको आरोप लगाउँदै आएको छ।
ट्रम्प तथा पूर्व राष्ट्रपति जो बाइडेन—दुवैको कार्यकालमा अमेरिकाले मादुरो सरकारको लामो समयदेखि विरोध गर्दै कडा प्रतिबन्धमार्फत उनलाई सत्ताबाट हटाउन दबाब दिँदै आएको छ।
गत साता अमेरिकाले भेनेजुएलाको तेल बोकेको भन्दै थप छ वटा जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।
ह्वाइट हाउसका अनुसार ‘स्किपर’ नामक उक्त जहाज ‘अवैध तेल ढुवानी’ मा संलग्न थियो र यसलाई अमेरिकी बन्दरगाहमा लगिनेछ।
अमेरिकाले भेनेजुएलाको उत्तरतर्फ पर्ने क्यारिबियन सागर क्षेत्रमा आफ्नो सैनिक उपस्थिति बढाएको थियो।
यसमा हजारौँ सैनिक तथा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड फोर्डलाई भेनेजुएलाको आक्रमण दायराभित्र तैनाथ गरिएको थियो।













