रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई अवज्ञा गर्दै रूसले आइतबार अर्को अत्याधुनिक आणविक क्षमताको ‘बुरेभेस्टनिक’ क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको हो ।
राष्ट्रपति ट्रम्पले त्यो अभ्यास ‘उपयुक्त’ नभएको बताउनुभएको छ।
युक्रेनमा घाइते भएका रुसी सैनिकको उपचारमा संलग्न सैनिक अस्पतालको भ्रमण गर्ने क्रममा बुधबार पुटिनले भन्नुभयो, “हिजो भविष्यको अर्को सम्भावित आणविक प्रणालीको अर्को परीक्षण गरिएको छ । मानवरहित पानीमुनि मार हान्न मिल्ने उपकरण ‘पोसाइडन’ मा आणविक ऊर्जा एकाइ पनि जडान गरिएको छ ।”
रुसी नेताले भन्नुभयो, “टोरपिडो ड्रोन रोक्ने कुनै उपाय छैन । यो परम्परागत पनडुब्बीहरूभन्दा उच्च गतिमा यात्रा गर्न सक्छ र विश्वको कुनै पनि महाद्वीपमा पुग्न सक्छ।”
नेता पुटिनले भन्नुभयो, “गति र गहिराइमा डुब्ने कार्य पोसाइडनको बराबरी कुनै पनि देशले गर्न सक्दैन र निकट भविष्यमा त्यस्तो हुने सम्भावना पनि छैन।”
रूसी सैन्य औद्योगिक क्षेत्रको एक स्रोतका अनुसार यो उपकरण एक किलोमिटर भन्दा बढीको गहिराइमा काम गर्न सक्दछ र समुद्रमा ७० सम्मको गतिमा यात्रा गर्न सक्दछ र यसलाई त्यहाँ पत्ता लगाउन सकिँदैन।
सन् २०१८ मा पहिलो पटक परीक्षण गरिएको यो उपकरणले दुई मेगाटनसम्मको परमाणु हतियार बोक्न सक्ने क्षमता रहेको स्रोतले बतायो ।
आइतबारको क्रुज मिसाइल परीक्षणपछि ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभयो, “युक्रेनमा युद्ध समाप्त गर्नु पर्छ। एक हप्ता लाग्ने युद्धको चौथो वर्ष सुरु भएको छ । क्षेप्यास्त्र परीक्षण होइन युद्ध अन्त्य गर्नुपर्छ।”
अमेरिकी राष्ट्रपतिलेरुसी नेताले द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न अनिच्छुक देखिएको भन्दै गत हप्ता बुडापेस्टमा पुटिनसँग हुने भनिएको शिखर सम्मेलनलाई रद्द गरिएको बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केदेखि नै सम्झौता गर्ने प्रयास गरिरहनुभएको छ। तर वार्तामा कुनै प्रगति भएको छैन । उहाँले युद्धविरामको लागि धेरै आह्वानहरू अस्वीकार गरेका पुटिनसँग बढ्दो निराशा देखाउनुभएको छ।
वासिङटनले गत हप्ता रुसका दुई ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो र युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँगको वार्ता ‘कहीँ पनि नपुग्ने’ गुनासो गर्नुभएको थियो।
सन् २०१८ मा पश्चिमा विरोधी भाषणका क्रममा पुटिनले पहिलो पटक रुसले बुरेभेस्टनिक र पोसिडोनको विकास गरेको घोषणा गर्नुभएको थियो ।














