• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमालका छोरा, विश्वका कीर्तिमानी: टासी ग्याल्जेन शेर्पाको अद्वितीय आरोहण

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
हिमालका छोरा, विश्वका कीर्तिमानी: टासी ग्याल्जेन शेर्पाको अद्वितीय आरोहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै हुनुहुन्थ्यो । गाउँभन्दा थोरै माथि डाँडामै स्वागत गर्न आइपुगेका थिए गाउँले । तर स्वागत गर्नेको भीडमा टासीका आँखाले खोजेको एउटा मान्छे अनुपस्थित थिए । त्यो अनुपस्थित व्यक्ति अरु कोही नभएर आङछिरिङ अर्थात टासीकै बुबा हुनुहुन्थ्यो ।

जब टासी पुग्नुभयो घरको आँगन । डाँडामाथिको घाम झैँ हुनुभएका बुबा हातमा खादा लिएर ढोका अगाडि उभिरहनुभएको थियो छोराको प्रतिक्षामा । त्यतिखेर पुनः टासीको आँखाले अर्को मान्छे खोज्यो । जसलाई त्यहाँ देख्न सम्भव थिएन । १५ वर्षअघि सधैँका लागि बिदा लिनुभएकी आमालाई टासीको मनले खोजिरह्यो, “यतिखेर मेरो आमा पनि बुबासँगै भइदिनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।”बुबाले खादा लगाइसकेपछि अँगालो मारे एकअर्कालाई । अनि दुवैका आँखाबाट बग्यो खुसीका आँशु । जसरी हिमताल फुटेर उर्लिँदै झर्छ पग्लिएका बरफ । “बाहिर म जति खुसी देखिएपनि भित्रभित्रै मलाई तिम्रो धेरै चिन्ता थियो छोरा भन्नुभयो बुबाले”, टासीले लुक्लाबाट काठमाडौँ ओर्लिएको केही घण्टापछि बुधबार कपनको सिद्धार्थ होटलमा लेखकलाई भन्नुभयो, “७८ वर्षका बुवाको आँखाबाट आँशु झरेको मैले जीवनमै पहिलोपटक देखेँ । तर त्यो आँशु दुःखको थिएन ।”

किनकी बुबालाई थाहा थियो एउटा आरोहीको मर्म र जोखिम । उहाँले पनि सगरमाथा शिखर टेक्नुभएको थियो तीन पटक । हिमालका उकाली र ओरालीमा बोक्दाबोक्दै दुःख, एक दशक अघि आङछिरिङ खुम्बु आइसफलको खर्पासमा पर्नुभयो । बुढेसकाल लागेको गोडाले साथ दिएनन् । दाहिने खुट्टाले लौरोको सहारा माग्यो । खट्टाले लौरोको सहारा मागेसँगै बन्द भयो आम्दानीको स्रोत र कान्छो छोरा टासीको पढाइ । छोरालाई पढाएर ठूलो मान्छे बनाउने आङछिरिङको सपना तुहिएको दिन थियो त्यो । त्यही छोरा जसलाई हिँडाउनु मन थिएन आफैले दुःखको भारी बोकेको गोरेटो । तर त्यही गोरेटो भएर आज फर्किँदै हुनुहुन्थ्यो टासी । फरक यत्ति थियो, कि टासीले १५ दिनमा चार पटक सगरमाथा शिखरमा पाइला राखी विश्व कीर्तिमान बनाएर फर्किनुभएको थियो । जुन सामान्य आरोहीका लागि असम्भव सरह हो ।

पासाङल्हामु गाउँपालिका–४, फोर्चे गाउँ हेर्दा जत्ति सुन्दर छ, त्यति नै हिमालका दुःख र साहासका कथाले भरिएका छन् प्रत्येक घर । त्यही गाउँका २८ वर्षीय युवा हुन् टासी ग्याल्जेन । जो नागरिकताअनुसार २९ वर्षको हुनुभयो । आरोहणको यात्रा सुरु गरेको सात वर्षमै टासीले विश्व कीर्तिमानी कायम गर्नुभएको छ । उहाँले यही मे ९, १४, १९ र २३ तारिखका दिन एकै सिजनमा १५ दिनभित्र चारपटक सगरमाथा आरोहण गर्नुभयो । सन् २०१८ देखि मात्र हिमालमा भारी बोक्न थाल्नुभएका उहाँले यसअघि पाँचपटक सगरमाथा र एक पटक चोयूको आरोहण गर्नुभएको थियो । टासीले म कुनै दिन सगरमाथा शिखरमा पुग्छु भन्ने सोच्नुभएकै थिएन । उहाँलाई त बुबाको सपना पूरा गर्नुथियो । विसं २०७२ मा सर एडमण्ड हिलारी माध्यामिक विद्यालय खम्जुङबाट एसएलसी उत्तीर्ण गरेपछि बुवाले प्लस टु पढ्न काठमाडौँ पठाउनुभयो । होटल म्यानेजमेन्ट लिएर सरासर प्लस टु गरेपछि स्नातक पनि सोही विषयमा पढ्ने चाहना थियो ।

तर स्नातकका लागि बुवाको कमाइले सम्भव भएन । अनि पुष्पलाल मेमोरियल कलेजमा पत्रकारिता विषय लिएर पढ्न थाल्नुभयो । दोस्रो वर्ष अध्ययन गर्दागर्दै बुबालाई खट्टाले साथ दिएन । दाजु र दिदीले बिहे गरिसक्नुभएको थियो । एउटी बहिनी पढ्दै थिइन् । घर व्यवहार र बुवालाई हेर्ने जिम्मा टासीको काँधमा आयो ।“मलाई छिटो र धेरै पैसा कमाउनुपर्ने बाध्यता आइलाग्यो”, सातवर्ष अघिको परिस्थिति सम्झँदै टासीले भन्नुभयो, “त्यसरी छिटो पैसा कमाउने एउटै मात्र विकल्प हिमालमा भारी बोक्नु भन्दा अरु थिएन ।” पहिलोपटक नै सन् २०१८ मा उहाँ चीनतर्फबाट अल्पाइन ग्लो नामक आरोहण कम्पनीसँग सगरमाथा आरोहणका लागि जानुभयो । तर उहाँसँग आरोहणसम्बन्धी कुनै तालिम र ज्ञान थिएन । उहाँले आरोहण गर्न सक्नुभएन । गाउँ फर्किएपछि गाउँकै आरोहण तालिम केन्द्रमा आधारभूत र ‘एड्भान्स’ तालिम लिनुभयो ।

सन् २०१९ मा चीनतर्फबाटै फोर्टिन पिक एस्पिडिशन नामक कम्पनीमार्फत सगरमाथा र त्यही वर्ष चोयू हिमालको आरोहण गर्न सफल हुनुभयो । त्यसपछि उहाँले सन् २०२२, २०२३ र २०२४ मा सगरमाथा आरोहण गर्नुभयो । २०२४ मा भने दुईपटक सगरमाथा आरोहण गर्नुभयो । फोर्चे गाउँका कुनै घर छैनन्, जुन घरका एक वा एकभन्दा बढी सदस्यले सगरमाथा आरोहण नगरेको । टासीकै साथीहरुले पनि कसैले १७ पटक, कसैले १४ पटक आरोहण गरिसके । “दुईवर्षअघि मलाई लाग्यो आरोहण त सबैले गर्छन् । अरुले भन्दा केही फरक गरिएन भने न मेरो आर्थिक प्रगति हुन्छ, न त मलाई कसैले चिन्छन्”, उहाँले भन्नुभयो, “त्यतिबेलै मैले २० दिनमा चारपटक सगरमाथा चढेर कीर्तिमानी बनाउँछु भनेर योजना बनाएँ ।”

योजना बनाए पनि त्यो पूरा गर्न सजिलो थिएन । उल्टै आरोहणका लागि खर्च गर्ने पैसा आफूसँग थिएन । सौभाग्यवशः यसवर्ष टासीको त्यही योजना पूरा गर्न दाजु छिरिङ टासीमार्फत चिनेको स्कटल्यान्डका जेम्स ल्याम्ब र लिटिल फाउन्डेशन, इन्सपायर ट्रेक तथा एटके एक्सपिडिशन कम्पनीबाट साथ पाउनुभयो । यसवर्ष पहिलो आरोहणको रुपमा डोरी टाँग्ने (रोप फिक्सिङ) टिममा सामेल भएर शिखर पुग्नुभयो । ३० किलो तौल हुने ३०० मिटर लामो डोरीलगायतका सामान बोकेर काम गर्दै मे ९ तारिखका दिन साँझ ५ बजे शिखर पुग्नुभएको थियो । “त्यो दिन मौसम यति सफा र राम्रो थियो कि चुचुरोमा सलाई कोरेर बाले पनि ननिभ्ने थियो”, उहाँले भन्नुभयो । त्यही बेला एउटा खादा सगरमाथालाई चढाउँदै ढोगेर उहाँले आशिष माग्नुभयो, “मलाई माफ गर्नुहोला, यसपटक म तपाईँको शिरमाथि चारपटक पाइला राख्न आउँदैछु, मलाई आशिष दिनुहोला ।” सायद टासीले आशिष पाउनुभयो । यसवर्षको चौथो आरोहणमा उहाँले सगरमाथा र आफ्नो कुलपितृ लोबुचेलाई सम्झँदै फेरि एउटा खादा चढाएर धन्यवाद दिनुभयो ।

यसवर्षको सबैभन्दा सजिलो आरोहण दोस्रो पटकको थियो । मे १४ तारिख बिहान ८ बजे शिखरमा पुग्नुभएको थियो । फर्किने क्रममा दोस्रो शिविरदेखि पहिलो शिविरको बाटोमा पर्ने नुप्त्से फेस आइपुगेपछि टासीलाई एक्कासि घरको याद (होम सिक) आयो । आफैँलाई थाम्न सक्नुभएन । रोप फिक्सिङमा गरेको दुःख सम्झँदै बाटोमै भक्कानिएर एक्लै रुनुभयो । “खै के भयो, के भयो, अचानक होम सिक जस्तो भयो र आफैँलाई रोक्न सकिन”, त्यो क्षण सम्झिँदै उहाँले भन्नुभयो, “मलाई चिच्याइचिच्याइ रुन मन लाग्यो अनि भक्कानिएर रोएँ ।”

तेस्रो पटकको आरोहणमा उहाँले बङ्गलादेशका आरोही इक्रामुल हसन साकिललाई लिएर जानुभयो । जसलाई दुई वर्षअघि नै सगरमाथा शिखर लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । समुद्रदेखि पैदलै हिँडेर ८४ दिनमा सगरमाथा शिखर आरोहण गर्नुभएका शाकिल अर्का साहसी आरोही हुनुहुन्थ्यो । ग्रेट हिमालयन ट्रेलको यात्रा पूरा गरिसक्नुभएका साकिललाई नेपालकै मकालु इ ट्रेडर्सले निर्भाना र अन्य अन्तरराष्ट्रिय ब्रान्डका आरोहणका लागि आवश्यक गियर्स (जुत्तादेखि कपडा) सहयोग गरेको थियो । उहाँहरु मे २३ तारिखका बिहान ६ः११ मा शिखर पुग्नुभएको थियो । तेस्रोपटक आरोहण गरेर फर्किदा टासी निकै थकित हुनुभयो । आधारशिविर आइपुगेपछि एकदिन आराम गर्ने सोचमा हुनुहुन्थ्यो । तर, जब आधारशिविरमा एटके एक्सपिडिशनका सञ्चालक लाक्पा शेर्पाले बधाई दिँदै खुसी र उत्साह थप्नुभयो । एकाएक ती सबै थकाई हरायो र त्यही साँझ आधारशिविरबाट उकालो लाग्नुभएका उहाँ दोस्रो शिविर पुग्नुभयो । भोलिपल्ट चौथो शिविर पुगेर साँझ ८ बजे शिखरको यात्रामा लाग्नुभएका उहाँका लागि यो आरोहण सबैभन्दा जोखिम र चुनौतीपूर्ण थियो ।

उहाँले बाटोमा करिब दुई सय आरोहीलाई ओभरटेक (उछिन्नु) गर्नुभयो । हिउँ परेर हराएको डोरी खोज्दै बिहान ३ः११ बजे शिखर पुग्नुभएका उहाँसँग एटके एक्सपिडिशनकै फूर्वा तेन्जी शेर्पा हुनुहुन्थ्यो । फूर्वाले पहिलोपटक शिखर पुग्ने अवसर प्राप्त गर्नुभएको थियो । उहाँहरुका पछिपछि हुनुहुन्थ्यो चारपाँच जना अरु आरोही । टासीलाई एउटै डर थियो फर्किने बेला ट्राफिक जाममा परिन्छ कि भन्ने । हावा यति बेजोड चलेको थियो कि भर्खरै परेको हिउँ उडाएर गालामा हिर्काउँदा थप्पड हानेको भन्दा बढी दुखाउँथ्यो । तर फर्किँदा टासी र फूर्वाले करिब ३० जनामात्र आरोही बाटोमा भेटे । बाँकी सबै आरोही प्रतिकूल मौसमका कारण फर्किएछन् ।

यसरी टासीले सगरमाथा आरोहणको इतिहासमा साहसिक विश्व कीर्तिमानी राख्ने आरोहीहरुको सूचीमा आफ्नो नाम समावेश गर्न सफल हुनुभयो । त्यसो त यो कीर्तिमानीप्रति उहाँमा कुनै घमण्ड भने छैन । उहाँ भन्नुहुन्छ, “म भन्दा छिटो दौडिन सक्ने शेर्पा दाजु भाइ अझै धेरै हुनुहुन्छ, तर आफ्नो ‘क्लाइन्ट’लाई सम्हाल्दै शिखरमा पु-याउनुपर्ने बाध्यताले यो कीर्तिमानी राख्ने अवसर मैले प्राप्त गरेको हुँ ।”

टासीका दुईवटा सपना छन्, एक शिक्षामा पिछडिएको आफ्नो गाउँलाई समृद्ध बनाउने, जुन सपना पूरा गर्न युवा पुस्ताका भाइबहिनी पनि शैक्षिक प्रगति हासिल गरिरहेका छन् । अर्को छ, पर्यटनकै माध्यमबाट देशलाई संसारमा थप परिचित गर्ने । पर्यटनबाट देशलाई समृद्ध बनाउने अभियानमा एउटा इँटा थप्ने । तरपनि दुःखको कुरा एउटै छ, हिमालमा काम गर्ने शेर्पालाई राज्यले आफ्नै देशका नागरिक हुन् भनेर गम्भीरतापूर्वक कहिल्यै लिएन । “सामाजिक सुरक्षा र अरु सुविधा त परै जाओस्, कम्तीमा हिमालमा ज्यान गुमाउने शेर्पाका बालबच्चालाई निःशुल्क पढ्ने व्यवस्था गरेपनि हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिमालमा ज्यान गुमाउनेहरु वास्तवमा हिमालका सहिद हुन्, उनीहरुका बालबच्चा पढाउन विदेशीलाई हात फैलाउनुपर्ने अवस्थाबाटमाथि उठ्न सकिएको छैन ।”

परिस्थितिले काँध थाम्नु परेको जिम्मेवारीले टासीलाई परिपक्व बनाउँदै छ । कम्तीमा आफ्नो काखमा हुकिँदै गरेका चार वर्षीय छोराको अवस्था आफ्नै जस्तो नहोस् भन्नेमा सचेत हुनुहुन्छ उहाँ । हुन त सफलताको कुनै मापन छैन, विश्वको सर्वोच्च शिखर पुगे पनि आखिर झर्नैपर्छ फेदीमा । त्यो वास्तविकताका साक्षी टासी आफैँ हुनुुहन्छ । तर पनि यस पटकको सफलता टासीको दृढ सङ्कल्प र मेहनतले मात्र सम्भव भएको हो । “मैले १६ दिनसम्म कुनै रात राम्रोसँग आराम गरिँन”, उहाँ भन्नुहुन्छ, “ढिलोमा रातको २ बजे उठिसक्थेँ । वास्तविक सपना पूरा गर्न निदाएर सम्भव छैन भन्ने मलाई राम्रोसँग थाहा थियो ।”

Previous Post

त्रिविमा नेविसंघको तोडफोड र तालाबन्दी

Next Post

गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था

गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In