काठमाडौं । प्रत्येक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको गुनासो आउँछ । सरकारले अबदेखि पुस्तक छपाइमा ढिला नगर्ने प्रतिबद्धता जनाउँछ । तर विगतमा जस्तै आगामी शैक्षिक सत्र २०८० मा पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने संकेत देखिएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त कागज ल्याउन नसक्दा पुस्तक छपाइमा ढिलाइ भएको हो । कागज अभावकै कारण पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती भएपछि संसद्को दिगो विकास तथा सुशासन समितिले चासो राखेको छ । समितिले विद्यार्थीको हातहातमा समयमै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
कक्षा १ देखि १२ सम्मका लागि २ करोड ४० लाख थान पाठ्यपुस्तक चाहिन्छ । त्यसका लागि भदौदेखि नै पाठ्यपुस्तक छपाइ गर्नुपर्छ । तर कागज अभाव भन्दै जनक शिक्षा सामग्री केन्द्रले बल्ल पुस ५ गतेबाट छपाइ सुरु गरेको छ । जनक शिक्षाले अहिलेसम्म करिब २५ लाख पुस्तक मात्र छपाइ गरेको छ । सबै पुस्तक छाप्न करिव १० हजार टन कागज चाहिन्छ । तर २ हजार टन मात्र आइपुगेको छ । ६ हजार टन कागज ठेकेदारले ल्याउन सक्ने अवस्था नभएके भन्दै जनक शिक्षाले जिटुजीमार्फत चाँडो ल्याउने व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।
हरेक वर्ष जस्तै आगामी वर्ष पनि पुस्तक अभाव हुने देखिएपछि संघीय संसद्को दीगो विकास तथा सुशासन समितिले चासो राखेको छ । यो वा त्यो बहानामा पुस्तक छपाईमा ढिलाई नगर्न समितिले भनेको छ । सांसदहरुले पनि कागज उद्योग स्थापना गरी दीगो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको शिक्षण सिकाई र परीक्षामा समेत गम्भीर असर पर्छ । त्यही कारण शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ ।
नयाँ शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउनेतर्फ सरकार गम्भीर देखिएको छैन । त्यसमाथि शिक्षा मन्त्रीसमेत नहुँदा पुस्तकविनै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु नहोला भन्न सकिन्न ।













