झापा–हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ का ६१ वर्षीया कृष्णमाया भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएका छन् ।
शिवसताक्षी– ११ स्थित बच्चाबगरमा आइतबार बिहान एउटा छावासहित चार वटा हात्ती बस्तीमा पसेका थिए । बस्तीमा पसेको हात्तीले घर भत्काउन थालेपछि सुतिरहेका भण्डारी दम्पती बाहिर निस्किएका थिए । त्यही क्रममा हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो ।
घाइते कृष्णमायाको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो । घाइते शान्तिरामको सोही अस्पतालमा उपचार भइरहेको छ ।













